अछामका विभिन्न क्याम्पसमा अनेरास्ववियूकाे तदर्थ कमिटि गठन
अछाम ।
अनेरास्ववियू अछामले जिल्लाका विभिन्न क्याम्पसहरुमा तदर्थ कमिटि गठन तथा विद्यार्थी भेटघाट कार्यक्रम तीब्र पारेको छ । अनेरास्ववियूको जिल्ला कमिटिका संयोजक सहसंयोजक तोकिएसंगै विभिन्न क्याम्पसहरुमा समेत कमिटि गठन गरिएका हुन् । क्याम्पस तदर्थ कमिटि गठन गरी विद्यार्थीलाई एकताबद्ध गर्ने, उनीहरुको हक अधिकारका लागि आवाज उठाउने तथा संगठन विस्तार गर्ने उद्देश्यले काम गरिरहेको अनेरास्ववियू अछामका सहसंयोजक निरक शाहीले बताउनु भयो । क्याम्पस तदर्थ कमिटि गठन गर्ने क्रममा आज अछाम बहुमुखी क्याम्पसमा कमिटि गठन गरिएको छ ।
विद्यार्थीको भेलाले क्याम्पस तदर्थ कमिटिको संयोजकमा शिद्धराज ढुंगाना र सहसंयोजकमा सरस्वती केसी सहित ३४ सदस्यीय कमिटि गठन गरिएको हो । अनेरास्ववियुका विद्यार्थी जनक थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा अछामका सचिवालय सदस्य भीम जनाला रहनु भएको थियो ।
सचिवालय सदस्य जनालाले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र पार्टीवीच एकता भई जनवर्गीय संगठनवीच एकता भएको अवस्थामा क्याम्पस कमिटि गठन गर्नु आवश्यक रहेको र अब सबै विद्यार्थीलाई अनेरास्ववियूमा आवद्ध गराई अघि बढ्नुपर्ने बताउनु भयो । अनेरास्ववियू विद्यार्थी संगठनको अगुवा संगठन भएको भन्दै जनालाले विद्यार्थीका विभिन्न हक अधिकारका लागि विभिन्न कालखण्डमा अनेरास्ववियूले नेतृत्वदायि भूमिका खेलेको बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथि अनेरास्ववियूका जिल्ला सहसंयोजक निरक शाही, प्रगतिशील प्राध्यापक संघ तथा पूर्व क्याम्पस प्रमुख नृप चाड रहनु भएको थियो । उहाँहरुले अनेरास्ववियू स्थापना कालदेखि विद्यार्थीको अधिकारको लागि लड्दै आएको र अछाम बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियूले महत्वपूर्ण कार्य गर्दै आएको बताउनु भयो ।
भेलामा अखिल नेपाल महिला संघका लक्ष्मी बोगटी, प्रगतिशिल प्राध्यापक संघका झपट केसी, प्रेस संगठनका केन्द्रीय अनुशाशन आयोग कमिटिका सदस्य तथा प्रदेश सदस्य टेकराज भण्डारी, प्राध्यापक धनकुमार केसी लगायतले मन्तब्य राख्दै अनेरास्ववियू विद्यार्थीको हक अधिकारका लागि शशक्त भई अघि बढीरहेको र आगामी दिनमा पनि शैक्षिक सुधार, विद्यार्थी हक हित तथा समस्या समाधानका लागि रचनात्मक भई अघि बढ्नुपर्ने सुझाव दिनुभयो । विद्यार्थी सरस्वती केसीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रमेश भण्डारीले गर्नुभएको थियो ।
अनेरास्ववियूले जिल्लाको पञ्चदेवल बहुमुखी क्याम्पसमा तिलक सञ्न्याल संयोजक र महेश रिमाल सहसंयोजक रहने गरी ३८ सदस्यीय, कैलाश बहुमुखी क्याम्पस कालागाउँमा भजन खनाल संयोजक र सुरेन्द्र न्यौपाने सहसंयोजक रहने गरी ३१ सदस्यीय तदर्थ कमिटि गठन गरिएको छ ।







