Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

कर्णालीमा १० औं राष्ट्रिय खेलकुद बहसः पूर्वाधारको लागि गृहकार्य सुरु

सुर्खेत।

२०७९ सालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्नका लागि तयारी स्वरुप प्रदेश राजधानीमा शनिवारदेखि पहल थालिएको छ ।
त्यसका लागि सवैभन्दा पहिला पूर्वाधारको खोजी गर्न लागिएको छ । सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसंग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरुवीच शनिवार छलफल गरी १० औं राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन् ।
प्रतियोगिता तीन बर्षपछि हुने भएपछि पूर्वाधार निर्माणका लागि अहिलेबाट नै जुट्नुपर्ने उनीहरुको भनाई छ । भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा हुने विभिन्न खेलका लागि आवश्यक पर्ने मैदान नै पहिलो आवश्यता छ । समथर जमीन भएको प्रदेश राजधानी सुर्खेत बाहेक अन्य जिल्लामा पनि खोजी गर्नुपर्ने भन्दै उनीहरुले कुन खेल कहाँ गर्दा उत्तम हुन्छ भनेर त्यसको आंकलन गर्नुपर्ने पनि जनाएका छन् ।

 

 

पूर्वाधार निर्माण नै पहिलो आवश्यकता भएकोले त्यसका लागि आजैबाट खटिनुपर्ने अवस्था आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले बताए ।

खेलकुद विकास समितिका निवर्तमान कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिताका लागि खेलमैदान, कवर्ड हललगायतका भौतिक पूर्वाधारको खोजी गर्नुपर्ने र सुर्खेतमै पर्याप्त भएको जानकारी दिए । उनले २०७९ सम्म प्रदेशमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरु बनिसक्ने दावी पनि गरे ।
तेक्वान्दोका अन्तर्रा्ष्ट्रिय प्रशिक्षक प्रदिप कुमार राईले १० औं खेलकुदका मेगा प्रोजेक्ट सुर्खेतमा आयोजना गर्ने गरी पूर्वाधार विकासमा लगानी गर्न नगरपालिका देखि प्रदेश सरकारसंग पहल गर्नुपर्ने सुझाव दिए ।

खेलकुद विकास समितिका पूर्व क्षेत्रीय सदस्य अर्जुनजंग शाहीले समय छ भन्दैमा चुप लागेर बस्न नहुने सुझाव दिएभने ऊसु संघका अध्यक्ष हरि थापाले प्रदेशमा सवै खेलहरु गराउन सकिने भएपछि पूर्वाधार निर्माणमै जोड दिए ।

प्रदेश खेलकुद विकास समितिका प्रमुख विरोध विक्रम जिसीले पनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले आजैबाट अग्रसर हुनुपर्ने बताए । उनले भौतिक पूर्वाधार निर्माणमा खेलाडी, पदाधिकारी, प्रशिक्षकलगायत सवैले पहल गर्नुपर्ने पनि बताए ।
बक्सि¨का प्रशिक्षक दिलिपसिंह ठकुरीले १० औं खेलकुदका लागि प्रदेश खेलकुद परिषद्को अस्थित्व कायम हुनुपर्ने बताए । उनले संविधानमा मात्रै संघियता आएको उल्लेख गर्दै प्रदेश सरकारले गठन गरेको परिषद्लाई राखेपले मान्यता नदिएको गुनासो गरे ।

सुर्खेतमा फुटवल, पौडी, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलमा प्रतियोगिता गराउन पूर्वाधार निर्माणका लागि बजेटको पहल हुनुपर्ने र रंगशाला निर्माण कार्य समयमैं हुनुपर्ने सहभागिहरुको सुझाव छ । त्यस्तै, बास्केटबल, तेक्वान्दो, ह्याण्डबल लगायतका खेलमा प्रतिस्प्रधा गराउन पनि जग्गा लगायत पूर्वाधार अभाव रहेको सम्वन्धित खेलका प्रशिक्षकले बताएका छन् ।

केन्द्र सरकारले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीका सवै जिल्लामा ५० लाखका दरले बजेट पठाइसकेको छ । सुर्खेतमा प्रतियोगिताका लागि प्याराफिट सहितको ३ वटा कवर्डहल निर्माण तत्कालै सम्पन्न हुने बताइएको छ भने केन्द्र सरकारले गुरु योजना सहितको डिपिआर निर्माणको काम सम्पन्न गरिसकेको छ ।