चखेवा पर्खेकै छ
तिमीले मलाई नभेटि नदेखि कन मन परायौ । मात्र फोनमा बोलेको आवाज सुनेकै भरमा भन्थ्यौ ‘आज भन्दा एक बर्ष पहिले मैले तिम्रो आवाज सुने अनि मन प¥यो ।’ त्यो तिम्रो आवाजमा मैले तिमी प्रतिको इमानदारिता, विश्वास र चोखो माया पाएँ । अनि मैले सोच्थे यति मिठो आवाज भएको मान्छेसँग जीवन विताउन पाएको भए साँच्चिकै स्वर्णिम जीवन विताउन सकिन्थ्यो होला ।
मान्छेलाई मन्त्रमुग्ध बनाई दिने बोली नै हो । बोलीको भरमा मान्छेको बानी व्यवहार कस्तो छ भनेर चिन्नै सकिदैन । कतिपय मान्छेहरु देखेरै मात्र पनि राम्रा लाग्छन् । कतिपय मान्छेहरु देख्यो कि कन्पारा तातिएर आउँछ । साँच्चिकै मन हो । के के सोचिदिने गर्दछ । कतिपय मन मिलेको मान्छेले गर्ने गल्तीहरुलाई पनि माफी दिन तम्सिन्छ मन । कतिपयलाई कुनै पनि हालतमा माफी दिनु हुँदैन भन्छ मन । साँच्चिकै मन अनौठो पो हुन्छ नि ।
कुनै टुङ्गो छैन । तिम्रो र मेरो भेट कहिले हुन्छ । साँच्चिकै प्रत्यक्ष भेटमा तिमीलाई कस्तो अवस्थामा पाउँछु होला मैले । अनि मलाई कसरी लिन्छौ होला तिमीले । मनमा बसेको माया मुखले व्यक्त गर्न सकौला नसकौला हामी । जसरी एकतर्फी रुपमा मैले तिमीलाई मनमा सजाएको छु त्यसरी तिमीले पनि सजाएको भए त ठीकै होला । यदि मैले मात्र एकोहोरो रुपमा तिमीलाई माया गरिरहेको रहेछु भने … । म कसरी भनौला तिमीलाई मैले मन पराउँछु भनेर । मेरो प्रस्तावलाई तिमीले अस्वीकार गरिदियौ भने के होला त्यति बेलाको अवस्था ।
साँच्चै प्रेम तिमी नाम जस्तै मायालु छौं । त्यसैले पनि होला साहेद तिमीले देखाएको प्रेमिल भावले गर्दा मैले तिमीलाई अहिलेसम्म पनि विर्सन सकेकै छैन । बिर्सन सक्छु पनि कसरी ।
हो मैले यो मेरो मन बुझिदिने र साँचो माया गर्ने मान्छे भेटाउनु भनेको मेरो लागि बालुवामा भएको माटो चालेर सुन भेटाउनु जस्तै थियो । यस्तै सोचमा मेरो हरेक दुःख सुखमा मेरा दिन अगाडि बढ्दै गएका थिए ।
धन्य छ, तीजको मेला । त्यही तीजले जुरायो तिमी र मेरो भेट हुने अवसर । तीजको दिनमा भएपनि मेरो सामान्य पहिरन । त्यही पहिरनलाई तिमीले मन परायौं । अनि तिमीले लगाएको पोषाक भन्दा पनि तिमीसँगको भेटको प्रतिक्षाको घडी समाप्त भएकोमा ज्यादै खुसी थिएँ म ।
जुन दिन मैले भेटे तिमीलाई । तिम्रो नाम प्रेम । व्यवहार पनि प्रेमिल भेटेपछि आफ्नो सपना पूरा भएको महसुस भयो । एक रातको बसाईमा तिमीले दिएका अनेक शब्दहरु सापटीकै रुपमा पनि म भन्न सक्दिन । त्यो रात तिमीले मलाई जे भन्यौ त्यसबाट मैले सोचेको भन्दा फरक नतिजा प्राप्त गरे । जसले गर्दा मलाई जीवनमा जहिले पनि एउटा समरण गराइरहने छ । भनिन्छ, यो संसारमा रुपमा मात्र होइन धन पनि हेरिन्छ । धन र दौलतसँग दाँजेर गरिने प्रेम आजीवनको लागि हुँदैन भन्ने सुनेको कुरा आज यथार्थतामा परिणत भएको छ । तिमी र म बीचको खाडलको रुपमा धन र सम्पत्ति नै भएको पाएँ । तिमी जस्तो सम्पन्न परिवारमा जन्मिन नसकेपनि तिमीले एउटा गरिब परिवारमा हुर्केको मान्छेलाई जसरी स्वीकार गर्ने अठोट ग¥यौ त्यसले पनि तिमी महान छौ भन्ने कुरालाई स्पष्ट पारेको छ ।
समय वित्दै गयो । तिमी आफ्नो पठाइको सिलसिलामा कहाँ पुग्यौ । तर पनि म तिम्रो बाटो हेरेर बसिरहेको छु । कुनै दिन मदन सुनका खातिर भोटमा जाँदा जसरी मुनाले पर्खिरहेकी थिइन त्यसरी नै तिम्री मनकी रानी भएर पर्खिरहेकी छु । आशा छ, एक दिन अवश्य हाम्रो भेट हुनेछ र हामी प्रेममा सफल हुनेछौ ।









