Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कविता – क्रान्ति अझै सकिएको छैन ।

सुदुरपूर्वको क्षितिजमा
लालीकिरण पस्किदै गरेको
लाल लाल सुर्य ,
रक्त रन्जित लाल झण्डा ,
हसिया हतौडाको क्रस ,
मुक्ती र मृत्युको कसम ।
स्मृतिको कुइनेटोबाट
जनतन्त्र र जनजिविकाका
स्वर्णिम सपनाहरूसहित
एक हुल लाल सेनाहरु
मुक्तिको जंगलपथ हुँदै
सोझिए सिंहदरबारतर्फ ।
बोले एकाएक धावा ।
खोले फायर ।
पड्काए बम, गोला, बारुद ।
र कब्जा गरे
नारायणहिटी,
सिंहदरबार ,
र बालुवाटार ।
सामुन्नेमा
लडाइँको अग्र मोर्चामा
ढलेको रक्ताम्य लालसेना
ठिङ्ग उभियो ।
तनक्क जिउ तन्कायो ।
कसिलो मुट्ठी बनाउदै
औंला ठ्ड्यायो र गर्जियो ,
कमरेड !
क्रान्ति अझै सकिएको छैन ।
।।१।।
सामान्तबादको नाइके
गलहत्याइयो नारायणहिटीबाट ।
संविधानसभाबाट बनाइयो
जनसंविधान ।
लेखियो जनतन्त्र, जनजिविका
र जिजिविषाका अधिकार र कर्तव्य ।
ढालियो केन्द्रीकृत एकतन्त्रीय व्यवस्था ,
ल्याइयो समावेशी सङ्घिय शासन प्रणाली ।
महिला, दलित , जनजाति , युवा,
उत्पीडित उपेक्षित बर्ग समुदायमा ,
पुगियो र भरियो आशाको लाभा,
जनअनुमोदित भइयो ,
छिरियो सिंहदरबार।
सिंहासन भइयो र घोषणा गरियो,
गाउँ गाउँमा सिंहदरबार
र अन्माइयो सिंहहरु ।
तैपनि, कम्रेड !!
क्रान्ति अझै सकिएको छैन ।
।।२।।
बिर्सेको छैन, कम्रेड !
शिक्षक, विद्यार्थी र अभिभावकलाई
दिएको प्रशिक्षण ।
पेरिस कम्युन ,
कम्युनिस्ट मेनिफेस्टो,
मार्क्सवाद, लेनिनवाद, माओवाद आदि ।
बुर्जुवा शिक्षा र जनबादी शिक्षा,
धनी र गरिबले पढ्ने असमान शिक्षा,
कपुरी “क “ र कम्युनिस्ट “क “
बाटुलो “ब“ र बन्दुक “ब“
सामन्ती “स“ र सत्ता “स“ आदि ।
बर्गिय मुक्ति र बर्ग्विहिन राज्य,
शोषण, दमन, अन्याय , अत्याचार
बेरोजगारी र भ्रष्टाचारको समुल अन्त्य ।
दलाल, नोकरशाही, भ्रष्टाचारी, सुराकी,
अत्याचारी, शोषक ( सामान्ती आदिलाई
जनसत्ताको आदेशसहितको
जनअदालतको फैसलामा
जनताको रोहवरमा तत्काल
जनकारवाही, जनशिविर र श्रम कैद ।
बिकृती र बिसङ्गतिका बिरुद्ध
रगत उमाल्ने भाषण,
मनै पगाल्ने जनसङ्गित ,
जन जनका मन जित्ने
जनशैली र जनजिवन ।
बाधेको थिए मैले पनि कफन,
खाए मुक्ती र मृत्युको कसम ।
अहिले सोचमग्न छु ,
ती सबै सामान्तर सत्ताको
अभ्यास थिए या सत्तारोहणको भर्र्याङ ?
त्यो त म ठम्याउन सक्दिन ।
तर ,
जनसत्ताका अभ्यासधारीहरुलाई
जनताले बैधानिक जनसत्ता
सुम्पिएका छन ।
हेर्नुछ त्यो सत्ता र यो सत्ता,
देख्नु छ कथनी र करणी,
आर्दश, सिद्धान्त, दर्शन र व्यवहार,
जिवनशैलि, जनस्वभाव र जनजिवन,
जनजिवन र जिजिविषा,
जनसस्कार र जनसस्कृती ।
दिलाउनुछ जनसत्ताको अनुभुती ,
जोगाउनुछ जनविश्वास र जनआस्था ।
त्यसैले , कम्रेड !!
क्रान्ति अझै सकिएको छैन ।