फेरि आयो फागुन एक
फागुन १ गते, २०५२ साल । तत्कालिन नेकपा माओवादीले जनयुद्धको उद्घोष गरेको दिन । माओवादी मात्र होइन गैरमाओवादीलाई पनि यो दिनको सम्झना प्रत्येक वर्ष ताजा भएर आउने गर्दछ । जनयुद्धको शंखघोष गरिएको दिनको रुपमा फागुन १ लाई जनयुद्ध दिवसको रुपमा फागुन १ सम्झने गरिन्छ । माओवादीका तर्फबाट मारिएकाहरु आफ्ना दिवंगत आफन्तको चिरशान्तिको लागि यस दिनलाई सम्झन्छन् भने सरकारी पक्षबाट मारिएकाहरु पनि त्यसरी नै । तर यस दिनको सम्झनालाई प्रत्येक पल र प्रत्येक क्षणमा सम्झनेहरु पनि छन् ।

जो जनयुद्धका घाइतेहरु हुन् । विहान उठेर नित्यकर्मका लागि विस्तरा छोड्ने बेला वैशाखी खोज्दै गर्दा यस दिनलाई सम्झनेहरुको संख्या पनि ठूलै छ । शौचालयमा अर्काको सहायतामा पुग्दै गर्दा यस दिनलाई सम्झनेहरुको ताँती पनि लामै छ । अनि जसले शरीरका विभिन्न भागमा अझै पनि गोलीका छर्राहरु बोकिरहेका छन् तिनीहरुले त यो दिनलाई बिर्सन सक्ने कुरै भएन । आखिर सबै नेपालीहरुका मानसपटलमा ताजा बनेर बसिदिएको छ फागुन १ गते ।
देशमा भइरहेको शासन सत्ताका विरुद्धमा भएको आन्दोलनले तत्कालिन सत्ता पक्षलाई केही बिगार्न सकेन । सत्तामा बसेर भत्ता पचाउनेहरुलाई छुन सकेन । छोयो भने सोझा नेपाली जनतालाई छोयो । बन्दुक र बारुदको बलमा गाउँका पाखा र पखेराहरुमा घाँस काँट्न गएका दिदीबहिनीहरुलाई छोयो । हातमा चक र डस्टर लिएर विद्यालयमा पढाउन गएका मुक्तिराम अधिकारीलाई छोयो । अनि छोयो गोरखाका कृष्णप्रसाद अधिकारी जस्तो लक्का जवानलाई । त्यति मात्र होइन जनयुद्धको समाप्ति पछि पनि यसको हावाले नन्दप्रसाद अधिकारीलाई छोयो । नन्द प्रसादको आत्माले वीर अस्पतालको फ्रिजबाट अहिलेपनि नियालीरहेको होला वर्तमान गणतन्त्रलाई ।
एकातिर जनयुद्धकारीको मार्चपास । अर्कोतिर तत्कालिन नेपाली सेनाको मार्चपास । बीचमा नेपाली जनताको मन भित्रको त्रास अहिलेपनि यो फागुन १ गतेले सम्झाउने गर्दछ । पश्चिम नेपालबाटै शुरु भएको थियो यो जनयुद्धको । आज पश्चिम नेपाल नै फेरि एक पटक उपेक्षित बनेको छ । सूर्य पूर्वबाटै उदाउने गर्दछन् । सायद त्यसैले होला पूर्वमा त्यति धेरै प्रभाव पर्न गएन माओवादी जनयुद्धको जति प्रभाव पश्चिममा पर्न गयो । जनयुद्ध गर्नु वा हुनु तत्कालिन अवस्थाको राजनैतिक व्यवस्थाको लागि ठीक थियो वा बेठीक त्यसको विश्लेषण राजनीतिक विश्लेषकहरुले धेरै पटक गरिसकेका छन् । तर जनयुद्ध पश्चात प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र नेपाली जनताले अपनत्व हुने गरी अनुभव गर्ने दिनको विश्लेषण अहिलेसम्म भएको छैन ।
सत्ता प्राप्तिका लागि मात्र युद्ध गरिएको थियो भने किन १७ हजार नेपाली आमाका काख रित्ता बनाइयो । किन टुहुरा बनाइयो १७ हजार नेपालीलाई । अनि किन बेसाहारा बनाइयो १७ हजार आमाबाबुलाई । किन पुछियो १७ हजार चेलीहरुको सिंन्दुरलाई । होइन नेपाली जनताको मुक्तिका लागि गरिएको जनयुद्ध थियो भने के नेपाली जनताले चाहेको मुक्ति यही हो । २ सय ४० वर्षे शाही शासनको अन्त्य गरेर गणतन्त्र नामको निरंकुशी व्यवस्थाको शुरुवात गर्नु नै जनयुद्धको लक्ष्य, ध्येय र उद्देश्य थियो । होइन भने तिलकराम जस्ता योद्धाहरु किन असक्षम भए । असक्षमताको बिल्ला भिरेर उनीहरु खाडीमा पसिना चुहाउन बाध्य किन भए ।
प्रचण्ड महाराजले आफ्नै पार्टीका योद्धाहरुको भविष्यको सुरक्षा प्रदान गर्न किन सकेनन् । बाबुराम महाराज आज फेरि सत्ताकै लोभका कारण किन नयाँ पार्टीको विधान मस्यौदा बोकेर कुदिरहेका छन् । रामबहादुर थापा महाराजका अगाडि एउटा जनयुद्धका घाइतेले आत्महत्याको प्रयास गर्दा उनको मन किन विचलित हुन सकेन । बादल महाराजको शिरमा लागेको बादल फटाएर आफ्नो छातिलाई गोलीको निशाना बनाई बादललाई आज गणतान्त्रिक शासन व्यवस्थाको गृहमन्त्रीको पदमा आसिन गराउने ती योद्धा कसरी असक्षम हुन सक्छन् । किन विश्लेषण गरिदँैन आज । कुनै समयमा मन्त्री पदमा आसिन भएको बेला हिसिला महारानीले मच्चाएको ताण्डव नृत्यले कति दुखाउँछ मान बहादुर खड्काको आत्म र उनी श्रीमतिको सिन्दर पोतेलाई । अनि ती बाबाको काखमा खेल्न नपाएका टुहुरा छोराछोरीलाई ।
चाहे सत्रु नै किन नहोस् । उसको मृत्युमा पनि रमाउनु हुँदैन । पोल्छ एक पटक सबैलाई । आगोमा हात हाले पछि पोल्छ । कसैको मृत्युमा रमाउनु पनि आगोमा हात हाल्नु हो । कुनै समयमा काँग्रेसको वडा समितिको सदस्यको हत्या भएको बेलामा रमाउने गर्दथे दुर्जनहरु । एमालेको वडा सचिवको सिंन्दुर पुछ्न सफल भएको बेला उत्सव गर्ने गर्दथे पापीहरु । एउटा निर्दोष प्रहरी मारिएको बेलामा अबिर जात्रा गर्दथे अधर्मीअरु । दाउँरा लिन गएको एउटा १६ वर्षे जवानलाई माओवादीको नाममा गोलीको निशाना बनाउन सफल भएपछि बहादुरीता प्रकट गर्दथे कायरहरु । छोरो जनयुद्धमा लागेका कारण लुटिनु परेको थियो ६० वर्षे आमाले । ६० वर्षे आमाको अस्मिता लुट्न पाएकोमा गर्व गर्दथे लाछीहरुले । यस्तै घटना र परिघटनाले सारा नेपालीहरुको मनलाई झस्काउँने गर्दछ यो फागुन १ ले ।
आखिर यो सब के का लागि रहेछ । सत्ता शक्ति र भत्ता अनि मोज मस्तीका लागि । नेपाली जनताले प्रश्न गरिरहेका छन् । जसले औपचारिकता बाहेक अरु बेलामा बिर्सिएका छन् फागुन १ लाई । फागुन १ देखि शुरु भएको जनयुद्धमा होमिएको राम बहादुरको छोरो कमान सिं स्वदेशमा बसेर आफ्नो दैनिक आवश्यकताको गर्जो टार्न नसक्न भएपछि पसेको हो मुग्लान । असक्षम घोषणा भएको बेलामा आएको एक पाकेट पैसा त उसले स्वदेशमै जागिर खान पाउने खुसीयालीमा मदिरापान गरेर स्वाहा बनाइसकेको थियो ।
जनयुद्धको समयमा उसले देखाएका रवाफहरुको कारण गाउँमा ऋण समेत नपाएपछि बाध्य भएको थियो बाबुबाट लिएको अंशमा परेको गैरी खेती बेच्न । साउदी पुगेको ६ महिनामै विचरालाई कसको श्राप लाग्यो वा उसका बाबुआमालाई दुर्दशा । पुछियो कमान सिं की बुढीको सिन्दुर र टुहुरा भए बले र मनिषा पनि । साउदीको बालुवामा कता हरायो कमान सिं को मृतशरिर । फर्किन पाएन मरेर पनि ऊसले आफ्नो माटोमा । हो त्यो कमान सिं की श्रीमति पनि आज सम्झन बाध्य छन् यो फागुन १ लाई । किनकी नेपाल प्रहरीको जागिरबाट भागेर जनयुद्धमा होमिएको थियो कमान सिं ।
फागन् १ लाई सम्झने सबैका आ आफ्नै तरिकाहरु छन् । कुनै दिन हात्तिछाप चप्पल लगाउनेहरु आज डेढ करोडको बेडलाई निन्द्रा आशन बनाएर सम्झन्छन् । टाउकोको मोल तोक्नेहरुसँग गला मिलाएर सम्झनेहरु पनि छन् । नाङ्गो नाचको संज्ञा दिएर माओवादीलाई सिध्याउन खोज्नेहरुसँग मित लगाएर फाग्न १ लाई सम्झनेहरु पनि छन् । कोही मन्त्री, मुख्यमन्त्री बनेर अगाडि पछाडि बडिगार्ड लगाएर सम्झनेहरु पनि । र, अझ धेरै फागुन १ लाई सम्झनेहरु छन् जसले माओवादी नामक पार्टीको इतिहास समाप्त भइसकेको विश्लेषण गर्ने क्षमता राख्छन् । इतिहास जित्नेहरुकै लेखिन्छ भनेको सत्य रहेछ । देशमा गणतन्त्र ल्याउनका लागि मर्नेहरुको इतिहास शहिद घोषणामै सिमित छ ।
संविधान सभाको निर्वाचन मार्फत नेपाली जनताका लागि नेपाली जनताले निर्माण गरेको संविधान बमोजिम शासन सत्ता संचालन हुनु पर्छ भनेर छातिमा गोली थाप्नेहरुको इतिहास दैलेखको नौमुलेमा ढलेको योद्धाहरुसँगै समाप्त भइसकेको छ । अछाममा लुटिएका बैंकहरुसँगै समाप्त भइसकेको छ । तर ज जसले संविधान निर्माण गरी देशलाई संघीयतामा लिएर फुटाउ र राज गर भन्ने सिद्धान्तको परिपालन गर्न सके उनीहरुको इतिहास सिंहदरबारमा सुरक्षित छ ।
देशमा आज फेरि धर्म निरपेक्षताका नाममा, धर्म सापेक्षताका नाममा अर्को आन्दोलनको शुरुवात हुन्छ कि भन्ने डर छ । आदिम कालदेखि भाइ भाइ भएर बसेका विभिन्न धर्मका अनुदायी नेपालीहरुका बीचमा धर्मयुद्ध हुन्छ कि भन्ने शंका छ । अहिले दुई तिहाइको सरकार छ देशमा । २०५२ सालमा माओवादीले राखेका मागहरुलाई तत्कालिन सरकारले बेवास्ता गरे झैँ नगरियोस् । भोलि फेरि मुलुकमा धार्मिक युद्ध भयो भने जनयुद्ध भन्दा खतरनाक हुनेछ । त्यतिबेला कसैले पश्चाताप गरेर केही फरक पर्नेवाला छैन । कसैले माफी मागेर पनि हुनेवाला छैन । अन्य मुलुकहरुमा हुने गरेका धार्मिक युद्धबाट उत्पन्न भएका खतरनाक अवस्थाको विश्लेषण गरेर सरल र सहज तरिकाले मुद्दालाई किनारा लगाउनु पर्छ । अन्यथा अहिले सिंहदरबारमा लेखिँदै गरेको इतिहास च्यात्न नेपाली जनता बाध्य हुनेछन् । चेतना भया ।






