Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

भगवतीटोलमा ठडिए स्ट्याण्ड गमला

सुर्खेत ।
वीरेन्द्रनगर बजार क्षेत्रको मुख्य भू–भाग ओगटेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ कर्णाली प्रदेशको राजधानीकै केन्द्रविन्दु हो । देश संघीयतामा गइसकेपछि बनेको कर्णाली प्रदेशको राजधानीको प्रमुख व्यापारिक क्षेत्रको रुपमा रहेको यस वडामा जनघनत्व दिन प्रतिदिन बढिरहेको छ । बसाई सरि आउनेहरुको कारण र प्रदेशको राजधानी समेत भएकाले यहाँ जनघनत्व बढ्नु स्वभाविक हो । त्यही जनघनत्वसँगै बढ्ने फोहोर व्यवस्थापन भने वडा कार्यालयदेखि नगरपालिकासम्मको चुनौतिको विषय बनिरहेको छ । नगरलाई सफा मात्र होइन स्वच्छ र हराभरा बनाउने योजनाका साथ वडा नं. ६ ले केही महिना अगाडि सफा र स्वच्छ नगर व्यवस्थापनका लागि विभिन्न टोल समूहका प्रमुख एवम् प्रतिनिधिहरुलाई अध्ययन भ्रमणमा लिएको थियो । वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधिसहित गएको अध्ययन भ्रमणको टोलीले धरान उपमहानगरदेखि इलामको सूर्योदयन नगरपालिका र भारतको सिक्किमका केही भू–भागहरुको समेत अध्ययन भ्रमण गरेको थियो ।


अध्ययन भ्रमणको समयमा धरान उपमहानगरपालिकको भेडेटारमा राखिएका स्ट्याण्ड गमलाले मोहित पारेको थियो । धरान उपमहानगरपालिकाको धरान बजारलाई सुन्दरता प्रदान गरेका गमला र त्यसमा रोपिएका फूलका बोटहरु झैँ अहिले वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ को भगवतीटोल देखिन्छ ।

अध्ययन भ्रमणमा सिकेको कुरालाई व्यवहारमा लागु गर्नु नै यसको उपलब्धी भएको हो । स्थानीयको ५० प्रतिशत लागत र वडा कार्यालयको पचास प्रतिशत लागतमा उक्त टोलमा अहिले ७५ वटा स्ट्याण्डहरु राखिसकेको छ भने बाँकी ५० वटा निर्माणको क्रममा छन् । एउटा स्ट्याण्डमा ५ वटा गमलाहरु राखिएका छन् भने सबै गमलाहरुमा फरक फरक जातका पाँच÷पाँच वटा फूलका विरुवाहरु रोपिएका छन् । वडा कार्यालयको वातावरण तथा विपत व्यवस्थापन तर्फको हरित नगरका लागि वातावरणमैत्री अभियान अनुरुप कौशी खेती प्रवद्र्धन तथा वृक्षारोपण कार्यक्रममा विनियोजन गरिएको जम्मा रु ५ लाख बजेट शीर्षकमा खर्च हुने गरि यो योजना अघि सारिएको वडा अध्यक्ष मोति प्रसाद कंडेलले बताए ।

कौशी खेती अभियानले वीरेन्द्रनगरको वडा नं. ६ मा फोहोर व्यवस्थापनको क्षेत्रमा अधिकांश सफलता प्राप्त गरेको मूल्याङ्कन पश्चात हरित अभियानमा लागेको वडा कार्यालयका कम्प्यूटर सहायक रेखा केसीको भनाई छ । उनले भनिन्, ‘हामीले वीरेन्द्रनगरका प्रत्येक टोलमा फरक फरक योजनाहरु अघि सारेर टोलविकास मार्फत स्थानीयहरुको समेत सहभागीता रहने गरि वडाका प्रत्येक टोललाई नमुना टोलको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ ।’ उनले थपिन्, भगवतीटोल विकास संस्थाको क्षेत्रमा पर्ने जन नमुना माध्यामिक विद्यालयको क्षेत्र र विद्यालयले निर्माण गरेका भौतिक संरचनामा संचालन भइरहेका पसलहरु अगाडि समेत लागत सहभागीतामा स्ट्याण्ड गमला राख्ने तयारी भइरहेको छ ।’

एकातिर वातावरणमा समेत सकारात्मक प्रभाव पर्ने र अर्कोतिर फोहोर व्यवस्थापनमा समेत सघाउ पुग्ने भएकोले स्ट्याण्ड गमलाको अवधारण ल्याएको बताउँछन् वडा सदस्य एवम् जिल्ला समन्वय समिति सुर्खेतका सदस्य तथा टोलविकास संस्थाका सदस्य पूर्णकुमारी चालिसे । उनले भनिन्, ‘हामीले धरान तथा भेडेटारमा जे देख्यौ त्यसलाई व्यहारमा उतार्ने कुरा मैले भेडेटारमै बोलेको थिएँ । जुन कुरालाई सबैभन्दा पहिले आफ्नै टोलबाट सुरुवात गरेका छौ । जसलाई अन्य टोल र वडाहरुले समेत सिको गरुन् भन्ने मेरो चाहना छ ।’

फोहोरबाट मोहोर बनाउने प्रविधिले जसरी धरान उपमहानगरलाई सुन्दर बनाएको छ त्यसरी नै हामीले पनि कौशी खेतीमा कुहिने फोहोरलाई मलको रुपमा प्रयोग गरेर ताजा तरकारी आफैले उत्पादन गरेर खाने व्यवस्थापन गरेको बताउँछन् वडा सदस्य एवम् टोलविकास संस्थाका सदस्य उपेन्द्र खड्का । भगवतीटोलमा स्ट्याण्ड गमलाको सुरुवात भइसकेको छ हामीले भित्ते गमलाको अवधारणा अघि सारेका छौ भन्छिन् वडा सदस्य कमला नेपाली । ‘६ नं. वडामा जुन योजना अघि ल्याएका छौ त्यसलाई पूरा गर्ने हाम्रो जिम्मेवारी भएकोले हामी आफ्ना प्रतिवद्धताहरु पूरा गरेर छोड्छौ’ वडा सदस्य नेपालीले सूक्ष्मदृष्टिसँग बताईन् ।

वडा कार्यालयले हाम्रो टोललाई नमुना टोलको रुपमा विकास गरेर अगाडि लैजानका लागि जुन कार्य गरेको छ त्यसलाई हामीले पनि आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेका छौ भन्छन् भगवती टोल विकास संस्थाका अध्यक्ष देव चालिसे । ‘वडा कार्यालयसँगको लागत सहभागीतामा तयार गरिएका स्ट्याण्ड गमलाहरुलाई संरक्षण गर्नका लागि प्रत्येक घर परिवारले जिम्मेवारी लिने भएकोले पनि यसको संरक्षण एवम् सम्वद्र्धन हुनेमा म ढुक्क छु’ उनले थपे । (सूक्ष्मदृष्टिमा प्रकाशित छ ।)