Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

शिक्षकका सवालका स्थानीय सरकार जिम्मेवार हुनुपर्ने : रावल

 अछाम ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष नर बहादुर रावलले शिक्षकका सवाल र समस्या समाधानका लागि स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । संगठनको तुर्माखाँद गाउँपालिकाको दोस्रो गाउँपालिका परिषद तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै स्थानीय सरकारबाट आवश्यक नीति बनाउने, त्यसको कार्यान्वयन गर्ने तथा विधिसम्मत रुपमा अघि बढ्ने कार्य गर्नुपर्ने बताउनु भएको हो । कुनै आस्था तथा कानूनले दिएको ट्रेड युनियन अधिकार बिरुद्ध कसैले हस्तक्षेप गर्न नहुने अध्यक्ष रावलको भनाई छ । नेपाल राष्ट्रिय शिक्षक संगठन तुर्माखाँद गाउँ संगठन कमिटिका अध्यक्ष राजबहादुर बिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रावलले शिक्षकले पनि आफ्नो पेशागत कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा जिल्ला कमिटी सदस्य तथा तुर्माखाँद गाउँ संगठन कमिटि ईन्चार्ज पदमबहादुर बुढा रहनु भएको थियो । कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष निरक शाही, हिस्टानका उपाध्यक्ष जनक बहादुर शाही, सेवानिवृत शिक्षक अर्जुनसिह बुढा, शिक्षक महासंघ तुर्माखाँद गाउँपालिका अध्यक्ष झंकर बहादुर शाही, नेपाल राष्ट्रिय शिक्षक संगठन सचिवालय सदस्य तपेन्द्र शाही, नेकपा जिल्ला कमिटी सदस्य डम्बर बहादुर बिसी, नेपाल राष्ट्रिय शिक्षक संगठन सचिव सर्पराज रिमाल, उपाध्यक्ष धर्मराज साउँद लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक र खुलामा शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल शिक्षकहरुलाई सम्मान पत्र सहित समान्न र नव प्रवेशी तथा अनुदानमा नियुक्ति हुनुभएका शिक्षकलाई स्वागत गरिएको थियो ।

संगठनका गाउँपालिका उपाध्यक्ष लक्षिराम बिष्टले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव नन्दाराम बुढाले गर्नु भएको थियो । कार्यक्रममा ८० जना बढी शिक्षकहरुको सहभागिता रहेको थियो ।