Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

अछाम बहुमुखी क्याम्पस गुणस्तर मान्यता प्राप्ति प्रक्रियामा

अछाम।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अछाम बहुमुखी क्याम्पस गुणस्तर प्रत्यायोजन प्रतिबद्धता (क्यूएए) प्राप्तिका लागि जुटेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्ति तथा गुणस्तर प्रदान गर्ने सुनिश्चितताका लागि क्याम्पसले विभिन्न प्रक्रिया अघि बढाईरहेको छ ।
क्याम्पसले गुणस्तर प्रत्यायोजन प्रतिबद्धता प्राप्तिका लागि विभिन्न कार्यहरु गरी अब अन्तिम चरणमा पुगेको सहायक क्याम्पस प्रमुख ध्रुब कुमार शाहीले बताउनुभयो । गुणस्तर प्रत्यायोजन प्रतिबद्धताका थप कार्यमा सहजीकरणका लागि घोडाघोडी बहुमुखी क्याम्पस कैलालीका सहायक क्याम्पस प्रमुख तथा क्यूएए श्रोत व्यक्ति पुष्करराज जोशीले आज क्याम्पसका विद्यार्थीहरुसंग छलफल समेत गर्नुभएको छ ।
क्यूएए प्राप्तिका लागि विद्यार्थीले खेल्नुपर्ने भूमिकाका विषयमा जानकारी गराउँदै उहाँले यसको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मान्यता दिलाउने, क्याम्पसको महत्व बढाउने, त्रिभुवन विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय स्तरमा परिभाषित हुने, विभिन्न सुविधा तथा सेवाहरु प्राप्त हुने लगायतका फाईदा रहेको श्रोत व्यक्ति जोशीले जानकारी गराउनु भयो ।
गुणस्तर प्रत्यायोजन प्रतिबद्धता विद्यार्थी समूहका अध्यक्ष ललित थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि विद्यार्थीहरुले क्याम्पसले प्राप्त गर्ने गुणस्तर प्रत्यायोजन प्रतिबद्धता मान्यताका लागि आफ्नो तर्फबाट सम्पूर्ण प्रकारका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । श्रोत व्यक्ति जोशीले विद्यार्थी, प्राध्यापक, सञ्चालक समितिका पदाधिकारी लगायत सरोकारवालासंग पनि छलफल गर्नुहुने सहायक क्याम्पस प्रमुख शाहीले बताउनु भयो । २०४८ सालमा स्थापना भएको क्याम्पस हाल भौतिक रुपमा सम्पन्न तथा शैक्षिक रुपमा अग्रसर रहँदै आएको छ ।