Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

संरक्षणको अभावमा ‘लालीगुराँस’

सुर्खेत ।
यतिबेला कर्णालीका पहाडहरु राताम्य देखिन थालेका छन् । केही समय अघि हिउँ र वर्षाका कारण उदासिला देखिने यी पहाडहरुमा लालीगुराँस फुल्ने क्रम शुरु भएसँगै राताम्य देखिन थालेका हुन् । लालीगुराँसको रंगले सबैको मन लोभिने गर्दछ जसले गर्दा कर्णालीका पहाडहरुमा लालीगुराँससँग रमाउनेहरुको घुइँचो लाग्ने समय आइसकेको छ ।

Image result for लालीगुराँस फुल
पहाडी क्षेत्रमा ढकमक्क गुराँस फूलेर जंगलनै हराभरा भएका छन् । यो जंगलमा फुल्ने यस्तो फूल हो, जसको सौन्दर्यमा जो कोहि मोहित हुन्छन् । त्यसो त लाली गुराँस नेपालको राष्ट्रिय फूल पनि हो । त्यसैले यस फूलप्रति हाम्रो भावनात्मक प्रेम र सम्मान पनि छ । गुराँस हेर्नमा जति राम्रो छ, उत्तिकै गुणकारी पनि ।

नेपालीको पहिचानसँग जोडिएको लालीगुराँस फूल नेपालको राष्ट्रिय फूल हो । राज्यले लालीगुराँसलाई राष्ट्रिय फूलको रुपमा पनि घोषणा गरेको छ । शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फुल्ने लाली गुराँसलाई राज्यले संरक्षण गर्नका लागि हालसम्म कुनैपनि योजनाहरु सार्वजनिक गर्न सकेको छैन् । तर गढी र लेखगाउँमा गत माघमा गुराँस संरक्षण दस्ता गठन गरेर जथाभावी फूल टिप्नेलाई निरुत्साहित पर्ने अभियान नै संचालन भएको थियो । सामुदायिक सुधार संस्था र सामुदायिक प्रहरी सेवा केन्द्र सुर्खेतले गठन गरेको गुराँस संरक्षण दस्ताले छेडा भएर जाने आन्तरिक र बाह्य पर्यटकलाई लाली गुराँस नटिप्न जानकारी समेत दिँदै आएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लालीगुराँसका वनहरुले दिने सौन्दर्यमा कमी आउन नदिन र फूल फुल्दा फुल्दै टिप्ने कार्य निरुत्साहन गर्न समन्वय समेत गर्ने गरेको छ ।

बोटबाट फूल नै टिप्नु भन्दा पनि यसको सौन्दर्य हेरेर आनन्द लिने सन्देश छर्न आवश्यक छ । जथाभावी रुपमा फूल टिप्ने व्यक्तिहरुलाई कारवाही गर्ने हो भने फूल टिपिनबाट जोगाउन सकिन्छ । यद्यपी यो एक्लै कोहीको प्रयासमा भने सम्भव छैन । जसका लागि सरोकारवाला निकायदेखि आम नागरिकहरु लाग्न जरुरी छ । राष्ट्रिय फूल लाली गुराँसको भक्षक होइन रक्षक बनौं भन्दै सुर्खेत दैलेख सडक खण्डमा गत वर्ष राखिएका विभिन्न जनचेतनामुलक सन्देशसहित वोर्डहरु यो वर्ष नै जिर्ण बनिसकेका छन् । सामुदायिक सुधार संस्थाले पहल गरिरहेको यस कार्यमा जिल्ला स्थित पर्यटन व्यवसायीहरुले भने लालीगुराँस संरक्षणमा कुनै चासो नदेखाउनु उनीहरुको गैरजिम्मेवारीपन हो ।

Image result for लालीगुराँस फुल
गत वर्ष सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईको अगुवाईमा नेपाल प्रहरी, नेपाली सेना र जिल्ला वन कार्यालयको सहकार्यमा गुराँस संरक्षण अभियानका लागि गठन गरिएको दस्ताले काम गरिरहेको थियो । भट्टराईका अनुसार ‘अव स्थानीयले मात्रै होइन, गुराँस हेर्न जानेले पनि जथाभावी फूल टिपेर ल्याउन पाउने छैनन् ।’

अध्यक्ष भट्टराईका अनुसार जिल्ला वन कार्यालयको सहकार्यमा रातानाङ्गला, प्रहरीसँगको सहकार्यमा छेडा र नेपाली सेनासँगको सहकार्यमा कपासेमा चेकजाँच थालिएको छ । ‘अध्यक्ष भट्टराईका अनुसार पहिलो काम स्थानीहरुलाई जागरुक गर्ने र दोस्रो चरणमा चेकपोष्ट स्थापना गरेरै कारवाही प्रक्रियामा जाने तयारी थियो । तर यतिबेला लालीगुराँस फुल्न सुरु भइसक्दा पनि उक्त कार्यको कार्यान्वयन हुने छाँट भने देखिएको छैन ।

नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको रुपमा मान्यता दिएको छ । सुर्खेतको चुरे क्षेत्रहरुमा पनि लाली गुराँस अत्याधिक रुपमा यो मौसममा पाइन्छ । विगतका वर्षहरुमा दैलेख र सुर्खेतका सीमानामा पर्ने रातानाङ्गला र गुराँसेमा फूल हेर्नका लागि धेरै आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन् ।

लालीगुराँसको रुख ३० मिटरसम्म अग्लो हुन्छ । यो मनमोहक फूलका विभिन्न प्रजाती संसारभरी नै पाइन्छन । संसारभरी १००० भन्दा बढी प्रजाती पाइनेमा चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३०० मीटर देखि ५६०० मिटरको उचाइमा पाइन्छ । माघदेखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडा नै रंगिने गर्दछ ।

महारभारत क्षेत्रमा पाईने विभिन्न प्रजातिका लालीगुराँस पछिल्लो समयमा संरक्षणको अभावमा विनाश हुने खतरा बढिरहेको छ । नेपाल तथा भारतका पहाडी भू–भागमा पाइने एक प्रकारको वनस्पति लालीगुराँसलाई संरक्षण गर्नु पर्ने आवश्यकता खट्किरहेको छ । प्रायः फागुन चैत्र तिर महाभारत क्षेत्रको डाँडाकाँडामा रातैभएर फुल्ने लालीगुराँस संरक्षणको अभावमा मासिदै गएको सर्वसाधरण बताउँछन् । जलवायु परिवर्तनले गर्दा अहिले लालीगुराँस फुल्ने समय अगावै फुल्न थालेका छन् ।

Image result for लालीगुराँस फुल
शिशिर ऋतुमा हिमाल र उच्च पहाडी जिल्लाहरुमा थरीथरी रंगमा फुल्ने लालीगुराँस कर्णाली प्रदेश सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमलगायतका जिल्लाका महाभारत क्षेत्रमा प्रशस्त पाइन्छ । फुलेको समयमा फूल टिप्ने र अरु समयमा कतिपय ठाउँमा स्थानीयहरुले दाउराको लागि लालीगुराँसका बोट नै काट्ने भएकोले र विभिन्न गाँउमा निर्माण गरिएका सडकका कारणले समेत लालीगुराँस मासिने त होइन भन्ने त्रासको सिर्जना भएको छ ।

लालीगुराँसका बारे केही रोचक तथ्य

लालीगुराँसको फूल खान हुन्छ, अलिअलि अमिलो स्वादको यो फूललाई अचार बनाएर राखेमा लामो समय सम्म बिग्रदैन । लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ । लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ । लालीगुराँसलाई राष्ट्रिय फूलको रुपमा २०१९ सालमा मान्यता दिईएको हो । नेपाली रुपैयाँ ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।

लालीगुराँस नेपालमा मात्र नभएर विदेशमा पनि त्यतिकै मनपराईएको फूल हो । लालीगुराँसको रुख भारतीय राज्य सिक्किमको रास्ट्रिय रुख पनि हो । त्यस्तै लालीगुराँसको फूल भारतीय राज्य कश्मिर र पाकिस्तान तर्फको कश्मिरको पनि राष्ट्रिय फूल हो । लालीगुराँसको फूल अमेरिकी राज्य वेस्ट भर्जिनियाँको पनि प्रान्तिय फूल हो । साथै, वेस्ट भर्जिनियाँको प्रान्तिय झण्डामा पनि यो फूल अंकित छ ।

औषधी पनि हो लालीगुराँस

यसको फूललाई टिपेर छायाँमा सुकाई धुलो परेर बन्द भाडामा राख्ने र उक्त फूलको एक एक चम्चा धुलोलाई मिस्रि पानी वा दुध संग खानाले स्वर बसेको ठिक हुन्छ । आमाशयामा लाभ पु¥याउँछ । रगत सफा राख्छ भने जन्डिस रोग ठिक गर्छ । पेटका सम्पूर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फूलको रस वा चुर्णलाई मिस्रि पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर, रक्त, अल्पता, रक्तचाप, आमवात, चिनी रोग जस्ता अनेकौ रोगबाट चाडै मुक्त्ति मिल्छ तर चिनी रोग लागेको बिरामीले भने शुद्ध पानी संग मात्र सेवन गर्नु पर्छ ।

लाली गुराँसलाई विभिन्न रुपमा औषधि बनाएर प्रयोग गर्न सकिने आयुर्वेद विज्ञानले पनि पुष्टि गरिसकेको छ । यसको फूललाई टिपेर छायाँमा सुकाई धुलो परेर बन्द भाडामा राख्ने र उक्त फूलको एक एक चम्चा धुलोलाई मिश्री पानी वा दुधसंग खानाले स्वर बसेको ठिक हुने गर्छ ।

Image result for लालीगुराँस फुल

पेट सम्बन्धि विरामी भएकालाई गुराँस सेवन अचुक औषधि भएको बुढापाकाको अनुभव छ । रक्त अल्पता, रक्तचाप, आमवात, चिनी रोग जस्ता अनेकौ रोगबाट मुक्ति दिन पनि लालीगुराँसको फूल उपयुक्त मान्छिन । लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउँछ ।

प्राचिन समयमै आर्युवेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ । यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ । यसको औषधीय गुण पनि उत्तिनै छ । गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ । हृदय रोगलगायत केही गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ । गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ । उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ । घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ । गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ । धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन ।

मिर्गौंला सम्बन्धी रोग नियन्त्रण गर्नः यदि तपाईँ मिर्गौंला सम्बन्धी रोगी हुनु हुन्छ भने लालीगुराँसको जुसको सेवन गर्ने बानी बसाल्नुहोस् । जसको सेवन नियमित गर्नाले मिर्गौंला सम्बन्धी रोग नियन्त्रण भई शरीरमा रोग प्रतिरक्षात्मक क्षमता समेत विकास गर्दछ ।
रगतको कमी हुन दिँदैनः पहाडी भेगमा पाइने गुलाबी रङ्ग तथा सेतो रङ्गको लालीगुराँस औषधीय गुण हुन्छ । जसको सेवन गर्नाले शरीरमा कहिल्यै पनि रगतको कमी हुन् दिदैंन ।


रक्तचाप कम गर्छः यदि तपाईँ राष्ट्रिय फूल लालीगुराँसको जुस नियमित रूपमा सेवन गर्नु हुन्छ भने यसले रक्तचाप बढ्न दिँदैन । यसमा पर्याप्त मात्रामा भिटामिन बी हुने गर्दछ । जसले अनेकौँ रोगहरू जस्तै खोकी, ज्वरोलाई औषधीकै रूपमा काम गर्दछ ।

मुटु रोगीका लागि फाइदाः यदि मुटु रोगबाट पीडित व्यक्तिले नियमित जसो एक गिलास लालीगुराँसको जुस पिउने हो भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न नदिई मुटु रोगसँग सम्बन्धित अन्य खतरा न्यून गर्न पनि महत्वपूर्ण भूमिका खेल्दछ । सुक्ष्मदृष्टि साप्ताहिक

तस्वीरहरु गुगलबाट लिइएका हुन् ।