Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

आफूखुसी हिंड्ने नागरिकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न निर्देशन

सुर्खेत ।

कोरोना भाइरस (कोभीड–१९) ले विश्वभर नै प्रभाव पारेपछि कर्णाली प्रदेश सरकारले पनि उक्त भाईरसबाट बच्न उच्च सतर्कता अपनाएको छ ।


आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा रहेको उच्च स्तरिय अनुगमन समितिको बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई अत्यावश्यक काम बाहेक आफूखुसी समुहमा हिंड्ने नागरिकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।

‘विशेष परिस्थिति र काम बाहेक बिना काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेका छौंं,’ मन्त्री भण्डारीले भने, ‘सुरक्षाका विषयमा थाहा पाउन ड्रोनबाट र स्थलगत रुपमा सुरक्षा नियकालाई निगरानी बढाउन समन्वय भएको छ ।’

बुलबुले उद्यान, खेल मैदान, देउती बज्यै, काँक्रेविहार र सार्वजनिक मैदानमा नागरिकहरु जम्मा हुने क्रम नरोकिएकाले यस्तो विषम परिस्थितिमा घरमै बस्न मन्त्री भण्डारीले सुझाव दिएका छन् ।

हालसम्म कर्णालीमा कोरोना भाइरसका संक्रमित नभेटिएकाले उच्च सर्तकता अपनाउन जरुरी रहेको मन्त्री भण्डारीको भनाई छ । अन्य रोगजस्तै तत्काल थाहा नहुने र सतर्कता नअपनाए मान्छे धमाधम ढल्ने स्थिति आउने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउन आवश्यक रहेको भण्डारीको भनाई छ । यस्तै मन्त्री भण्डारीले बजारमा कालो बजारी गर्नेलाइ तत्काल कारवाही गर्ने र अनुगमन कार्यलाइ तिव्रता पारिएको समेत बताए ।