Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

मतदाता नामावली अद्यावधिक सुरू

काठमाडौं ।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ ।

मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो । आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन शुरु गरेको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य चुस्त–दुरुस्तरूपमा सम्पन्न गर्न÷गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा गर्नुभयो । आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भ्रातृ सङ्घसङ्गठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगका आग्रह गर्दै उहाँले भन्नुभयो, “निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली सङ्कलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन् ।”

सो अवसरमा राजनीतिक दलका प्रतिनिधिले विशेष कार्यक्रम सञ्चालन गरेकामा आयोगलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।