Loading... आजः २७ कार्तिक २०८३, बिहीबार । Thursday 12th November 2026

राहतका लागि कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर पक्राउ

बारा

राहतका लागि कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका आठै जनाले मेयर रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि उनलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले कान्तिपुरलाई जानकारी दिए ।

 

कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्। यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो। त्‍यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो।

त्‍यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७-मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो।

कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो। कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन्।

इ कान्तिपुर