ओलीलाई प्रधानमन्त्री जस्तो गरिमामय पदमा बस्न नैतिक आधार सकिएको छ : अध्यक्ष डा. लोहोनी
काठमाडौं।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री जस्तो गरिमामय र महत्वपूर्ण जिम्मेवारीको पदमा बस्ने नैतिक आधार सकिएको बताउनुभएको छ । सञ्चार माध्यामसँग कुरा गर्दै उहाँले देश र जनहित विपरित कार्य गर्ने ओलीलाई कुनै पनि कोणबाट प्रधामन्त्रीका रुपमा जनताले स्वीकार्न नसक्ने बताउनु भएको हो ।
अध्यक्ष लोहनीले भन्नुभयो, ‘सांसद अपहरण, यति र यम्नी जस्ता विषयमा उच्च स्तरिय कमिसन गठन गरि प्रधानमन्त्रीलाई उभ्याउनुपर्छ । सफाई पाए बस्नु ठिक छ नत्र उहाँले राजीनामा दिनु उपयुक्त हुन्छ । देशमा महामारीको अवस्था छ । देशको अर्थतन्त्र कहाँ पुग्ने हो भन्ने विषयमा सोच्नुपर्ने बेलामा प्रधानमन्त्री दल फुटाउन र व्यक्ति अपहरण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । उहाँले नेपालको अहिलेको समस्या हल गर्न सक्ने हिम्मत राख्नुहुन्न । मेरो नम्र निवेदन छ प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । राजनीतिको नाममा घटिया काम भएको छ’।
राप्रपाका अध्यक्ष लोहनीले नेकपालाई स्थिर शासन, आर्थिक समृद्धी र सुशासन जस्ता विषयमा काम गर्न जनताले स्पस्ट बहुमत दिएको भएपनि प्रधानमन्त्रीका कारण उसले त्यो नैतिकताको धरातल गुमाएको बताउनुभयो । बहुमत छ भन्दैमा कसैलाई कूशासन चलाउने अधिकार नभएको र शासन चलाउने नैतिकता प्रधानमन्त्रीले गुमाई सकेको दावी गर्नुभयो ।
लोहनीले नेकपाले यो समयमा व्यक्ति बचाउने कि पार्टी र देश बचाउने भन्ने विषयमा गहन छलफल गर्न सुझाव दिदै शासन चलाउनेको निति र नैतिकता हुनुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीबाट राजनीतिक विकृती आएको भन्दै ओली कुनै निति र नियमममा बस्ने व्यक्ति नभई अहम र घमण्ड देखाउने मात्र भएकाले पार्टीले सोच्नुपर्ने बेला आएको दावी गर्नुभयो ।







