पद्य कविता – नेपाल मेरो घर
(१)
छानो उच्च हिमालको रजतझैँ चम्कन्छ राती पनि
पुर्खाको इतिहासले सकलको गम्कन्छ छाती पनि ।
कैल्यै हार्न तयार छैन पथमा हुन् लाख काँढा तर
जित्नैपर्छ अनन्त युद्ध जसले नेपाल मेरो घर ।।

(२)
झर्ना झर्झर झर्दछन् तलतलै टल्केर मोतीसरि
बाह्रै मास हराभरा छ धरणी पैह्रेर धोतीसरि ।
कर्णाली मनमा सुसाउँछ सधैँ कोेसी र मेची वर
आओ भन्दछ गण्डकी लहरले नेपाल मेरो घर ।।
(३)
राराभित्र मुसुक्क हाँस्तछ सधैँ यो कान्जिरोवा अनि
फेवामा लहराउँछन् शिखरका सम्पूर्ण छाया पनि ।
क्वैली गाउँछ गीत, नाच्तछ सधैँ डाँफे, जुरेली पर
हर्दम् डुल्दछ कस्तुरो वनवनै नेपाल मेरो घर।।
(४)
यौटै आँगनमा हिमाल छ यहीँ, पाखा, तराई यहीँ
चुच्चे नाक हवस् कि थ्याच्च अथवा छैनन् पराई कहीँ ।
बज्छन् मादल साँझमा घरघरै रन्कन्छ नौलो सुर
चल्छन् नृत्य सदैव निर्भय भई नेपाल मेरो घर ।।
(५)
ड्यौढा खेल लगाउँछन् मगरले, रोदी दुरा गाउँछन्
नाच्छन् बाहुन धाननाच, ठकुरी कर्नाल रन्काउँछन् ।
सार्की शासन गर्दछन्, गुरुङ छन् पाण्डित्यमा निर्भर
राई वेद पढाउँछन् दिनदिनै नेपाल मेरो घर ।।
(६)
पढ्छन् क्षत्रिय चाखले हरघडी इस्लाम औ मुन्धुम
मौलो हान्दछ भक्तिले सलिमले बज्दा सधैँ दुन्दुभ ।
साकेला कति नाच्नु ती छमछमी कौरा र सेलोसँग
थारू नृत्य, धिमाल, झाँगड स्वयम् नेपाल मेरो घर ।।
(७)
हाम्रा गौतम बुद्धको सुजनता पाइन्छ खोजी कहाँ ?
पैलो ज्ञान र शान्तिको चहकिलो देदीप्य आभा जहाँ
अष्टावक्र, विदेह, कौशिकसँगै छन् लाख ज्ञानी वर
पार्छन् साँच्चि धपक्क भूतल सधैँ नेपाल मेरो घर ।।
(८)
बग्छन् काव्यनदी जहाँ मुखमुखै छन् लोक सारा कवि
मानौँ निःसृत छन्दमा दिनदिनै संसार छायाछवि ।
आफै प्रश्न तथा अनेक थरका छन् साथमा उत्तर
साँच्चै अद्भुत सृष्टि लाग्दछ सधैँ नेपाल मेरो घर ।।
(९)
पुज्छन् देवसमान आदर गरी ढुङ्गा र माटो जहाँ
आफै खन्न तयार हुन्छ दुनियाँ नौ लाख बाटो जहाँ ।
कैयौँ कष्ट सहन्छ, लड्छ सहजै टिक्दै स्वयम् का भर
झुक्दै झुक्न दिँदैन माथ कहिल्यै नेपाल मेरो घर ।।
(१०)
रातो चन्द्र र सूर्य अङ्कित जहाँ बोकेर झन्डा स्वयम्
आफ्नो राष्ट्रिय स्वाभिमान जहिल्यै घोकेर जिन्दा स्वयम् ।
नौलो हाँकसँगै नवीन युगको यात्रा नयाँ भर्खर
थालेको गणतन्त्रको उदयको नेपाल मेरो घर ।।
(११)
यो वैविध्य अपार जीवनछटा छोडी कतै जान्नँ म
कोदो, फापर खाउँला बरु यतै मिष्ठान्न भो खान्नँ म ।
नौलो ज्ञान र शिल्पले, प्रविधिले पोख्दै पसीना-तर
आफ्नै देश सुरम्य पार्नु छ अझै नेपाल मेरो घर ।।
शार्दूलविक्रीडित छन्द






