Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

कोरोना कविता ५ – पोखरी, भ्यागुत्ता र एक बेरोजगार युवा

ठूला ठूला आँखा

धोक्राजस्ता कहिल्यै नभरिने भुँडी भएका

झण्डै झण्डै धार्नी पुग्न खोजेका भ्यागुत्ताका

खुट्टा तानातानको खेल हेर्दै, र

कम तौलका साना भ्यागुत्ताहरुका

कर्कश स्वरका भजन सुन्दै

पोखरी छेउको डिलमा बसेर

केही आसालाग्दा मानिसहरु

आपसमा गफ गरिरहेको सुन्छु –

यौटा भन्छः

सुनकै कुर्सिमा राखे पनि

भ्यागुत्तो उही फोहर पोखरीमै

फाल हाल्न हतारिन्छ, र

यी भ्यागुत्ताहरु सँधै समुद्रको उपहास गर्ने गर्छन्  ।

दोश्रो भन्छः

भ्यागुत्तो त्यस्तो प्राणी हो

जो साँढेजस्तो बन्ने ईच्छा गर्छ, र

शरीर पट्ट फुट्ने गरी मोटाउने चाहना राख्छ,

विचरा

सधैँ दलदलमै रमाउन चाहन्छ ।

तेश्रोले पनि थप्योः

भ्यागुत्तो

आफ्नै कर्कश आवाजमा

आफैं मन्त्रमुग्ध हुन्छ, र

झन् झन् ठूलो आवाज निकालेर

ट्वार ट्वार गर्दै

दार्शनिक पारामा सोच्ने गर्छ विचरा –

ठूलो पोखरीमा आफू सानो भएर बाँच्नु पनि के बाँच्नु

सानो पोखरीमा आफू ठूलो भएर बाँच्नुको मजै अर्को हुन्छ …

उता पोखरीबाट

एकनाश

ट्वार ट्वार आवाज आइरहेकै छ

उता पोखरीभित्र

खुट्टा तानातानको खेल चलि नै रहेको छ

यी केही आसा लाग्दा देखिएका मानिसहरु

फिस्स हाँसेर बाटो लाग्छन्

को थिए

खै कता गए तिनीहरु …

एक बेरोजगार युवा म

निद्राबाट बिउँझिए सरी

झसङ्ग भएर वरिपरि हेरें

औंसीको रातजस्तो अध्याँरोले छोपिसकेको रहेछ

हरेक साँझपछि एकाएक

म सामु तेर्सिने प्रश्न –

अहिले मेरो सामु

फेरी ठिङ्ग उभिएको छ

रात कहाँ, कसरी र किन विताउने ?

अन्धकारभित्र हराउँदै

फेरी भोलिको उज्यालोको प्रतीक्षा गर्दै

भ्यागुत्ताका

कर्कश आवाजहरुमा

संगीतको मीठास खोज्न बाध्य

भ्यागुत्ताका

एकले अर्कोलाई पछार्ने खेलभित्र

आफ्नो सुरक्षित भविष्यको कल्पना गर्न विवश

एक बेरोजगार युवा म

मलाई मेरै प्रश्नले सताउन थाल्छ-

रात कहाँ, कसरी र किन विताउने ?

खुट्टा तानातानको खेललाई हौस्याउँदै

पोखरीभित्रबाट

कर्कश स्वरमा वेजोडले गाईरहेको भजनका शव्दहरु

मेरो कानमा ठोक्किरहेका छन् –

झण्डै झण्डै धार्नी पुगेका

एक अर्कालाई पालैपालो पछारिरहेका

हाम्रै भ्यागुत्ता महान्, हाम्रै आकास विशाल

हाम्रै दलदल महान्, हाम्रै पोखरी विशाल।

***