वीरेन्द्रनरकाे क्वारेन्टाइनबाट १३४ जना घर पठाइदै
सुर्खेत ।
वीरेन्द्रनगर खुलामञ्चमा रहेको क्वारेन्टाइनमा बसेका व्यक्तिको थ्रोट स्वाब परीक्षण नेगेटिभ देखिएपछि उनीहरुलाई आइतबार (आज) घर पठाउन लागिएको छ ।
क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा नेगेटिभ देखिएपछि १३४ जनालाई घर पठाउन लागिएको हो ।
नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनबाट जाजरकोटका ३०, दैलेखका ५२, मुगुका ३२ सुर्खेत पश्चिमका १३ र वीरेन्द्रनगरपालिका भित्रका ९ जनालाई घर पठाउन लागिएको क्वारेन्टाइन ब्यवस्थापन समितिले जनाएको छ ।
सुर्खेबाट बाहिरी जिल्लामा जानेका लागि २ बस, २ फोर्स गाडी र २ जीपको व्यवस्था गरिएको छ ।
खुलामञ्चको क्वारेन्टाइनमैं रहेका ५५ जनालाई बिहीबार नै घर पठाइएको समितिले जनाएको छ ।







