सहमति विनाको बाटो निर्माण कार्य रोकियो
सुर्खेत ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मा सहमति विना निर्माण कार्य भइरहेको बाटोको निर्माण कार्य बन्द भएको छ । वडाको सक्तेकाँडा सामुदायिक वन भित्र निर्माण हुँदै गरेको बाटो वन उपभोक्ताहरुको विरोधका कारण रोकिएको हो ।
अलायाचौरदेखि सक्तेकाँडा जाने कच्ची सडकखण्डबाट शाखा सडकको रुपमा निर्माण गर्न थालिएको बाटोका कारण वन विनाश हुने र भूक्षय हुने सम्भावना भएका कारण बाटो निर्माण गर्न नदिएको सक्तेकाँडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रत्ना सलामीले बताइन् । उनले भनिन् उपभोक्ता समूहको बैठक नै बसेर बाटो निर्माण गर्न नसकिने निर्णय भएको छ । वन डिभिजन कार्यालयले नै अनुमति दिन्छ भने आफूहरुको भन्नु केही नभएका सलामीको भनाई थियो ।
बाटो निर्माणले ठूला रुख नगएपनि बुट्यानमा भने क्षति हुने र जसका कारण तलको जग्गालाई समेत क्षति पु¥याउने हर्क बहादुर तारामीले बताए । उपभोक्ता समूहसँग सहमति नै नगरि वन डिभिजन कार्यालय समेतबाट अनुमति नलिई बाटो निर्माण गर्नका लागि डोजर संचालन गर्नु कानून विपरित भएको स्थानीय थीर बहादुर मल्लले बताए ।
वन डिभिजन कार्यालयले पनि वन क्षेत्रमा बाटो निर्माण गर्नका लागि अनुमति दिन नसक्ने भएकोले त्यसको लागि मन्त्रीपरिषदबाट नै निर्णय हुनुपर्ने प्रावधान रहेको वन अधिकृत टेकबहादुर रावलले जानकारी दिए । उनले भने वनको जग्गामा बाटो निर्माण मात्र नभई कुनै पनि भौतिक संरचना निर्माणका लागि कसैले पनि अनुमति दिन मिल्दैन । कसैलाई पनि गैरकानूनी काम गर्ने अधिकार छैन, रावलको भनाई छ ।
यता बाटो निर्माण गरिरहेका मदन खड्काले भने वनको जग्गामा बाटोको निर्माण गरिएको नभई गोरेटो बाटोलाई अलि ठूलो बनाउन थालिएको बताउँछन् । सक्तेकाँडा जाने बाटोबाट करिब २ मिटर वनको जग्गामा पर्ने बाटोलाई गोरेटो बाटोबाट केही फराकिलो बनाउने योजना भएपनि वन नै विनाश गर्ने योजना भने नरहेको उनको भनाई छ । बाटो निर्माण गर्न लागिएको क्षेत्रमा नीजि जग्गा पर्ने भएकोले त्यहाँको विकास निर्माणका साथै त्यस ठाउँलाई पनि यातायातको सुविधा पु¥याउन बाटो निर्माण गर्न थालिएको मदन खड्काले बताए ।
डिभिजन वन कार्यालयबाट गएको टोलीले बाटो निर्माणको कार्य रोकिसकेको छ ।






