४ जना कोरोना संक्रमित निको भएर फर्किए

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् ।

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।

अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीका अनुसार डिस्चार्ज हुने दुई जना पुरुष र दुई जना महिला छन् ।

टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका एक पुरुष र एक महिला, काठमाडौंका एक महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

महिला एक जना आरोग्य प्रतिष्ठानमा कार्यरत कर्मचारी हुन् । अर्की एक महिला चन्द्रागिरी निवासी हुन् । थप एक जनाको भने विस्तृत विवरण आइसकेको छैन । उनीहरु नवौं दिनमा डिस्चार्ज भएका छन् ।

अस्पतालमा थप एक जना संक्रमित उपचारको क्रममा रहेको उनले जानकारी दिए । यो चार जनासंगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

 

कोरोना भाइरसका कारण तेस्रो मृत्यु

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

 

अन लाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *