गजलकार स्व ‘प्रभात’ को परिवारलाई आर्थिक सहयोग
सुर्खेत ।
यही जेठ ३ गते दिवंगत भएका गजलकार लक्ष्मण बि.सी. ‘प्रभात’ को परिवारलाई मध्यपश्चिमाञ्चल गजल मञ्चले आर्थिक सहयोग गरेको छ । गजल क्षेत्रमा लागेकाहरुसँग उनको उपचारका लागि सहयोग संकलन भइरहेको थियो । लामो समयदेखि मुटुरोगबाट पीडित प्रभातको उपचारकै क्रममा निधन भएपछि उनको उपचारका लागि भनेर संकलन गरिएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।

गजलकारहरु कपिल अञ्जान, धिरेन थापा अनुपम, ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, सन्देश कठायत, सरस्वती पन्त, खगेन्द्र अटल, कृष्ण विरही, विक्रम शिशिर, महानन्द ढकाललगायत कौशलया मेमोरियल अस्पताल कोहोलपुरका तर्फबाट समेत उपलब्ध भएको १०,५०० नगद उनको ११ औं दिनको पुण्यतिथिका अवसरमा उनकी श्रीमती लक्ष्मी केसी बिसी र बुबा धनसिं बुढालाई संयुक्त रुपमा गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले हस्तान्तरण गरेका छन् । ‘अमृत’ कर्णाली साहित्य समाजका अध्यक्ष पनि हुन् ।
साहित्यकारको तर्फबाट यसरी सहयोग गरेकोमा धन्यवाद दिँदै उनको नाम अमर राख्नका लागि पहल गरिदिएमा अझ बढि सन्तुष्टि प्राप्त हुने प्रभातकी श्रीमती लक्ष्मीले बताइन् ।

२०३८ साल असार १४ गते दैलेखको पिलाडीमा जन्मेका ‘प्रभात’ उच्च शिक्षाको सिलसिलामा सुर्खेत झरेसँगै २०५९ तिरबाट नेपाली गजलमा कलम चलाउन थालेका हुन् । लामो समय मुटु रोगबाट ग्रसित उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा (जेठ ३ गते) मृत्यु भएको थियो । उनी तत्कालिन मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठानको सचिवलगायत, दैलेख सुर्खेत सम्पर्क शाखाका संयोजक पनि थिए । गजल प्रधान पत्रिका जुनेलीका प्रधानसम्पादक समेत रहेका उनी विभिन्न पदमा रहेर काम गरेका थिए भने गजलप्रधान पत्रिका गजलवाटिकाका सम्पादक समेत थिए ।
उनको हजारी थुङ्गा नामक गजल संग्रह प्रकाशित छ । उनले सुर्खेतमा रहेर नेपाली गजलको विकास र विस्तारका लागि ठूलो योगदान दिएका थिए । उनका एक छोरा एक छोरी श्रीमति र आमाबुबा छन् ।






