Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

समाज र जातीयताको प्रभाव

देश भित्रको देश अनि सिर्जना गरेको परिवेश यस्तो हुन नपरोस् । संन्दर्भ नवराज भाइको बाटै सुरु गरौ । प्रेमलाई रोक्न आएको जात अनि समाज र सस्कार सबै कुरा एकै पटक सिर्जना भइरहेको जस्तो लाग्छ । मानिसको जीवनको सुरुवात र जीवनको अन्त्यसंगै आउँदा सुन्ने हेर्ने र भोग्नेको पीडा एउटै नहोला भन्न सकिँदैन । समाजले विकास गरेको सस्कार र कोही व्यक्तिले वनाएको नियमले पारिरहेको प्रभाव र त्यसले जसले सिर्जना गरेको भयावह अवस्था भनौ या कहाली लाग्दो घटना हो कर्णाली प्रदेशको रुकुम पश्चिममा घटेको ।

डिकेन्द्रकुमार थापा

यो परिस्थितिले सिर्जना गरेको भनौ या नियतिले कसैको जीवनकै अन्त्य हुनु दुःखद पक्ष हो । समाजको लागि यो कुनै पनि तह र तप्काबाट हेर्दा पनि गलत नै हो । यो राम्रो पक्ष हुँदै होइन । यस्ता घटना यसपालि मात्र हैन वारम्वार घटिरहेका छन् । जातको कारणले बिवाह रोकिनु एउटा पक्ष हो तर जातकै कारणले कसैको जीवन नै ज्यानु एक्काइसौ शताब्दीको कहाली लाग्दो अवस्था हो । प्रेम सम्बन्ध र सामाजिक सम्बन्ध अनि मानविय सम्बन्ध यि यथावत कुराले समाजलाई कतै न कतै प्रभाव भने पारिरहेको छ ।

नेपालमा बनाईएको जात र यसको वर्गीकरण । यो एउटा पेशागत कामको लागि या भनौ पहिचानको लागि बनाईयो होला तर यसले समाजमा ठुलो सानो र पेशाका आधारमा भेदभाव गरेको छ । जसले समाजलाई नै दुई चीरामा बाँडिदिएको छ । त्यसैले पनि यो अहिलेमात्र होइन उहिले पनि राम्रो थिएन । नवराजकै कुरा गर्दा ज्याननै लिनु पर्ने अबस्था भने थिएन होला । एक जनाले नबुझे पनि त्यत्रौ ठुलो समूह भित्रको कोही कसैले त बुझनु पर्दथ्यो । सुन्दै हेर्दै र भोग्दैमा कति कहालि लाग्दो विषय छ यो ।

नेपालमा जातको कुरा आज मात्र भएको होइन । कुनै समयमा हुने खानेहरुले आफ्नो स्वार्थको लागि गरिएको यो विभेद अहिलेसम्म पनि रहिरहेको छ । यतिका लामो समय देखि चलिनै आएको यो कुप्रथाको अन्त्य अझँै हुन सकेको छैन । हामीले भोगेको र देखेको अवस्था थियो जुन बेला पानि नछुने र छिटो हाल्ने जस्ता कुराहरु नेपाली समाजमा भोग्दै हेर्दै, अनुभुति गर्दै आएको अवस्था थियो । जातीय कुरा समाज भित्रका हुने खाने र हुँदा खाने वर्ग बिचको बर्ग विभेद सिर्जना गर्नको लागि समाज भित्रका हुने खाने वर्गले बनाएको एउटा नियम हो । नेपाली समाज यस्तो अवस्थामा पुग्यो कि कोही व्यक्तिले बनाएको आफनो व्यक्तिगत स्वार्थका लागि बनाएको नियम आज आएर नेपाली समाजमा विभेदकारी समय र अवस्था सिर्जना गरिरहेको छ । जात सानो ठुलो भन्दा पनि उसको आचरण र स्वभावको कुरा पहिलो हुन्छ, उसको व्यवहार र उसको नैतिकता जस्ता कुराहरु आउने गर्दछ । जातले दिएको भन्ने अझैँ सोच रहिरहनुले पनि कतै न कतै प्रभाव भने परिरहेको छ । वर्ण र वर्ग अनि धर्म र जात यो सबै समाजले सिर्जना गरेका अथवा भनौ परम्परा गत केही पक्षहरु पक्कै हुन । धर्म एउटा पक्ष हो भने जातीय धर्म अर्को पक्ष पक्कै हो । जसले समाजमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । धर्म संस्कृतिको संरक्षण गर्नु राम्रो पक्ष हो भने जातीयताको नाममा समाज र मानविय जीवनमा प्रभाव पार्ने तत्वलाई परिवर्तन गर्नै पर्दछ ।

नेपालमा जातीय कुरा जसरी समाजमा प्रभाव पारि रहेको छ नि त्यो भन्दा धेरै यो धर्म र त्यो धर्म जस्ता कुराले नेपाली समाजमा प्रभाव पारिरहेको अवस्था रहेको छ । स्वभाविक रुपमा धर्म परिर्वतन एउटा पक्ष हो भने परिर्वतन गर्नको लागि वातावरण नै सिर्जना गर्ने पक्ष भनेको अर्को पक्ष हो । त्यसैले नेपाली समाजमा त्यो जातकोले यो धर्म मान्नु पर्दछ यो जातले यो धर्म मान्नु पर्दछ भन्ने कुरा प्रति पनि ध्यान जान जरुरी रहेको छ । धर्म र जातीयता भित्रका कुरालाई लिएर समाज विखण्डन गर्न पाइँदैन । समाजलाई सकारात्मकता तिर लैजाने कुरामा ध्यान जान जरुरी रहन्छ । जातीयताले समाजमा सिर्जना गर्ने सहि र गलत भन्ने भन्दा पनि समाजमा रहेका हामी मानिसहरु बिचको सोचको कुरा पहिलो हुने गर्दछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै भनेका होइनन् मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

जात सानो र ठुलो होईन सामाजिक चेतनाको स्थरमा पर्ने प्रभाव अथवा मान्छेको चेतनाको स्थर ठुलो र सानो भन्ने हुन्छ । जुन देशमा मान्छे मान्छे बिच नै यति ठुलो खाडल खनिन्छ । मान्छेहरु त्यहि खाडलमा हराई रहन्छ त्यो देशमा परिर्वतर्नका ठुला ठुला भाषण वा दस्ताबेजको के अर्थ रहँदैन । जातीय बिभेदका यस्ता घटना घटिरहने र मानिसको सोचमा परिर्वतन नआउने हो भने समाज जहिको त्यहि रहनेछ र परिर्वतनको खासै महत्व रहने छैन । जात ठुलो र सानो हुँदै होईन । यो समाजले बनाएको कथित नियम हो । समाजले बनाएका राम्रा नियमको पालना गर्नु त राम्रो पक्ष हो नै तर नेपालको संबिधानले समेत जातीय छुवाछुत हटाइसकेपछि र उसलाई अपराधिक कार्य भनिसकेपछि पनि जातीय विभेद गर्न नपाईने भनि सकेको अवस्थामा रुकुम पश्चिममा घटेका जस्ता जघन्य अपराधिक घटना घटिरहनुले हाम्रो चेतनाको स्तर कहाँ छ भन्ने कुरालाई मापन गर्दछ ।

देशलाई विकासको मुल प्रवाहमा ल्याउनका लागि जातका कुरा भन्दा पनि काम प्रतिको सम्मान गर्नु पर्दछ । लाखौ रुपैयाँ खर्च गरेको आरकिटक जस्तै काम गर्न सक्ने हो भने के को सानो र ठुलो तर एउटा कुरा सोच बदल्नु आवश्यक छ । जातले दिएको धर्मले दिएको जस्ता कुरा भन्दा पनि संबिधानले दिएको अधिकारलाई समाजमा असर नपर्ने गरि आफना क्रियाकलापहरु गर्न भने जरुरी रहन्छ । अबको समय भनेको परिर्वतनको लागि सिर्जनात्मक काम गरि आर्थिक, भौतिक र विकासको अग्रगामी छलाङमा पुग्नु पर्ने समाज हो । जसका लागि समाज परिर्वतन गर्न र देश आफनो समुदायको विकासमा लाग्न जरुरी रहन्छ । स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म नीति निर्माणदेखि योजना कार्यान्वयनसम्म सबैले देश विकास र समाजमा रहेको परम्परागत सोच बदल्नु पर्छ । जातले ठुलो सानो भन्दा पनि काम प्रतिको सम्मानलाई प्राथमिकता दिनु आजको युगको माग हो ।

यस कार्यका लागि युवावर्गको भूमिका अझैँ विशेष रहनु पर्दछ । किनकी अशिक्षा र चेतनाको अभावका कारण कतिपय प्रौढावस्थाका मान्छेहरुले सोचलाई बदल्न सकेका छैनन् । उनीहरुलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्नेमा युवाले विशेष भूमिका खेल्नै पर्दछ । उनीहरुको मान मर्दन नहुने गरि यथार्थताको धरातलमा पुगेर उनीहरुको मनलाई नै परिवर्तन गर्न सक्नु पर्दछ । एकातिर कानूनले साथ दिइरहेको छ भने अर्कोतिर शिक्षाको ज्योतिबाट जातीय विभेदको अन्धकारलाई हटाउन आवश्यक रणनीति तयार गर्नु पर्दछ । केवल नेताहरुले मञ्चमा पुगेर गरिने भाषणले मात्र समाज परिवर्तन सम्भव छैन भन्ने कुरालाई रुकुम पश्चिमको घटनाले फेरि एक पटक झकझकाइदिएको छ ।

यो लेख आजको सूक्ष्मदृष्टि साप्ताहिकमा प्रकाशित छ ।