Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

भोलीदेखि पसल खोल्ने उद्योग बाणिज्य संघको निर्णय

सुर्खेत |

सुर्खेत उद्योग बाणिज्य संघले भोलि (जेठ २१ गते) बुधवारदेखि वीरेन्द्रनगर बजार दिनभर खोल्ने निर्णय गरेको छ । सरकारले बारम्बार लकडाउन गर्दा उद्योग व्यवसाय चौपट्ट भएको भन्दै बाध्य भएर जेठ २१ गतेदेखि सवै पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय गरेको हो । यस्तै तरकारी, फलफूल, डेरी, ग्याँस पसलहरु दैनिक विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म खोल्ने जनाएको छ ।

संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा मंगलवार हस्ताक्षरित विज्ञप्तिमा कोरोनाका कारण सरकारले लगरेको दुई महिना लामो लकडाउनलाई पूर्णरुपमा सहयोग गरेपनि बजेटमा उद्योगी व्यवसायीहरुको पक्षमा कुनै आवाजसमेत नउठेको बताइएको छ । निजी क्षेत्रले भोग्नुपरेको कठिनाईलाई पूर्णरुपमा बेवास्ता गर्दै अहिलेसम्मको सहनशीलतालाई कमजोरी ठानेर सरकारले लकडाउनको विकल्प नखोजी बारम्बार बढाउँदै गएकोले यसबाट उद्योगी व्यवसायीहरु मारमा परेको उल्लेख छ ।

स्वास्थ्यसम्वन्धी सम्पूर्ण सुरक्षा सावधानी अपनाएर जेठ २१ गते सम्पूर्ण पसलहरु विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ५ घन्टा खोल्ने संघले जनाएको छ । साथै शनिवार सम्पूर्ण पसलहरु बन्द रहने उल्लेख गरिएको छ ।

यसअघि सम्पूर्ण हार्डवेयर पसलहरु शनिवारबाहेक अन्य ६ दिन दैनिक ५ घन्टा खुल्ला गरिएको थियोभने खाद्यान्न पसलहरु सोमवार, बुधवार र शुक्रवार गरी तीन दिनमात्र दुई घन्टा खुला गरिएको थियो ।

एकातिर कर्णालीमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको बेलामा सुर्खेतको वीरेन्द्रनगर बजार खुल्यो भने कतिको चहलपहल होला ? सरकारले लकडाउनको पालनाका बारेमा के सोच्ला ? अनि कोरोना संक्रमणको भयावह अवस्था झन कस्तो हुँदै सोचनीय विषय छ ।