क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु
सुर्खेत
सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।
उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।
मेयर थापाका अनुसार जनता मावि विद्यापुरको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो ।
तर पन्चपुरी–१ का ती १९ वर्षीय युवकको भने रिपोर्ट नेगेटिभ आयो । उनी बसेको कोठामा रहेका अरु पाँच जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि बुधबार अपराह्न करिब ३ बजेतिर उनलाई घर पठाइयो ।
‘जनता मावि विद्यापुरको क्वारेन्टिनबाट उनको घरसम्म पुग्न दुई–तीन घण्टा लाग्छ । तर अपराह्न तीन बजे क्वारेन्टिनबाट हिँडेका उनी राति ११–१२ बजेतिर बल्ल घर पुगेका रहेछन्,’ मेयर थापाले भने, ‘उनी घरमा ढिलो किन पुगे त्यो कुरा बुझ्दै छौं ।’
उनको बिहीबार बिहानपख करिब दुई बजेतिर मृत्यु भएको जानकारी आएको मेयर थापाले बताए । उनले प्रेसर सम्बन्धी औषधि खाने गरेको पाइएको पनि मेयर थापाले बताए ।
ती युवकको फेरि पनि स्वाब संकलन गरेर पीसीआर टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली उनको घरतर्फ पठाइएको मेयर थापा बताउँछन् ।






