दैलेखमा रिपाेर्ट नआउँदै घर पठाइएकालाई संक्रमण पुष्टि भएपछि क्वारेन्टाइन बोलाइयो
दैलेख
जेठ ८ गते भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ।

अहिले नारायण नगरपालिकास्थित नारायण क्याम्पस कोरोना संक्रमणको केन्द्र बनेको छ । कर्णालीमा भेटिएकामध्ये आधा संक्रमित क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । ‘भारतमा आरडीटी र पीसीआर जाँच गरेर आएको थिए,’ उनले भने, ‘क्याम्पसको बसाइले संक्रमित हुन बाध्य बनायो ।’
१ सय बेड क्षमताको क्याम्पसमा अहिले २ सय ५० जनालाई राखिएको छ । सुरुमा कोरोना पुष्टि भएकालाई छुट्टै व्यवस्थापन गर्न सकेको भए भयावह अवस्था नआउने नागरिक समाजका अगुवा खडकबहादुर सिजापतिले बताए । ‘कर्णालीका अन्य जिल्लाको होल्डिङ सेन्टर सुर्खेत बनाइयो, त्यसैले कम देखा परे,’ उनले भने, ‘तर हाम्रो नगरपालिकाले सबैलाई नारायण क्याम्पसमा ल्याएर थुपार्दा स्वस्थ व्यक्तिमा पनि संक्रमण देखियो ।’ नगरपालिकाले पूर्वतयारी र सावधानी नअपनाउँदा संक्रमण धेरै देखिएको उनले बताए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले रिपोर्ट ढिलो आउँदा संक्रमितको संख्या बढ्दै गएको जनाए । ‘रिपोर्ट आउन समय लागेपछि संक्रमितको पहिचानमा समस्या भयो,’ उनले भने, ‘ठाउँ अभावका कारण संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा विभाजन गरी राखेका छौं ।’ नगरपालिकाभित्र ३ सय १६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९५ जना संक्रमित देखिएको उनले बताए । दैलेखमा अहिलेसम्म ३ सय १० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
हचुवाको भरमा स्थानीय तहले भारतबाट फर्किएकालाई घर पठाउँदा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए । ‘आँखामा छारो हाल्न आरडीटी गरियो,’ उनले भने, ‘स्थानीय तहले कोरोनाजस्तो महामारीमा जनताको स्वास्थ्यप्रति खेलबाड गरे ।’ अव्यवस्थित क्वारेन्टाइनका कारण टोलटोलमा संक्रमण फैलिएको उनको दाबी छ । दैलेखमा शुक्रबार थप ९१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये महाबुका ६४ जना र दुल्लुका २७ जना रहेका छन् ।
अनिश्चितकालीन कर्फ्यु
संक्रमण बढ्दै गएपछि थप जोखिम नियन्त्रणका लागि दैलेख जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
प्रशासनले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा कर्फ्यु लगाएको हो । भारतबाट आउनेको संख्या र संक्रमित उत्तिकै बढेकोल कर्फ्यु लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनका अनुसार नारायण नगरपालिकाको सम्पूर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामासमेत कर्फ्यु लगाइएको छ ।
‘आरडीटी चेक गरेर घर फर्केकाहरुमा पनि कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘उनीहरुको खोजी कार्य जारी राखेका छौं ।’ खुलेआम बजारमा हिँडडुल धेरै भएकोले संक्रमण फैलिने जोखिम देखिएको उनले बताए ।
इ कान्तिपुर बाट साभार सामाग्री






