Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

रुकुम हत्याकाण्ड छानविनमा राजनीतिक चलखेल नहोस् : नेता शाह

सुर्खेत ।
पछिल्लो समयमा जाजरकोट र रुकुममा भएको घटना निकै चर्चित बनेको छ । प्रायः सबैले दोषिले सजाय पाउनु पर्ने माग गरिरहेका छन् । विशेष गरि जातीयताका रुपमा गरिएको विभेदका कारण घट्न गएको घटनाका बारेमा संघीय संसदमा समेत विभिन्न टिका टिप्पणी समेत भइरहेका छन् । संसदले छानविन समिति नै बनाएर घटनाको बारेमा छानविन भईरहेको छ । यस्तो अवस्थामा जाजरकोटका काँग्रेस नेता एवम् समाजसेवी राजीव विक्रम शाहसँग प्राइप टेलिभिजनले गरेको कुराकानीमा आधारित अंशः

राजीव भन्छन् – देशमा गणतन्त्र आइसकेपनि अझैँ पनि दुरदराजका गाउँहरुमा चेतनाको विकास हुन सकेको छैन । जसको कारण पनि जातीयताका कुराहरु उठ्ने र त्यसमा सामान्यदेखि असामान्यसम्मका घटनाहरु हुने गरेका छन् । रुकुममा भएको घटना पनि यस्तै खालको घटना हो । यो घटना निकै दुःखद घटना हो । रुकुममा भएको घटना के कारणले भएको हो भन्ने कुरा स्पष्ट छ । घटनाक्रमले जातीय रंग देखिन्छ ।

जाजरकोटका युवाहरुको वर्वरता पूर्वक ज्यान गएको छ । यस्तो अवस्थामा म कसरी चुप लागेर बस्न सक्छु । पीडितहरुले न्याय पाउनै पर्छ । राजनीतिक रुपमा कोही कसैले पनि घटनालाई ओझेलमा पार्न पाइँदैन । जाजरकोट जिल्लाबाट प्रदेश र संघमा गरेर ९ जना सांसदहरु छन् । उनीहरुले अहिलेसम्म एउटा विज्ञप्ति समेत निकाल्न सकेका छैनन् । म सांसद नभएपनि नेपाली काँग्रेस जाजरकोटको नेता भएकोले यस घटनाका दोषिहरुलाई कारवाही कानून बमोजिम कारवाही होस् भन्ने माग गर्दछु । मेरो गृहजिल्लाका ५ जना युवाहरुको ज्यान जाने गरि भएको घटनाको विषयमा निष्पक्ष रुपमा छानविन हुनु पर्छ र यसमा राजनीतिक तवरले कुनैपनि हस्तक्षेप हुनु हुँदैन । छानविन प्रक्रियालाई प्रभावित पार्न कुनैपनि नेताहरुले दबाब दिन आवश्यक छैन ।

विचार फरक हुँदैमा सर्वसाधारणलाई दुःख दिन पाइँदैन । फरक राजनीतिक आस्था राख्नेहरुलाई राजनीतिक विभेद गर्न पाइँदैन । जाजरकोटका जनताको भोटको सम्मान गर्न सक्नुपर्छ । समाजलाई राजनीतिक विभाजन गर्दा समाज पनि त्यसरी नै विभाजित हुने भएकोले राजनीतिक चेतनाको विकास गर्नु जरुरी छ । असल राजनीति गरेमा असल प्रभाव पर्छ र गलत राजनीति गरेमा त्यसको प्रभाव नकारात्मक रुपमा पर्दछ । जिल्लामा हुने सानातिनाका कुरामा पनि राजनीतिक चलखेल बढि हुने गरेको छ । यसले जिल्लाको समृद्धिलाई सहयोग पुग्दैन ।

एक पीडितले न्याय पाउनु पर्छ र दुई राहत दिएर मात्र हुँदैन । यो जातीय विभेद होइन भने यसमा राजनीतिक प्रभाव पार्न किन खोजिँदैछ । सरकार पक्षीय व्यक्ति वा निकायले दोषिहरुलाई बचाउन खोजेको जस्तो देखिन्छ । जातीय विभेद गरेकै कारण २१ औं शताब्दिमा ६ जना युवाको ज्यान गएको छ । यसमा राजनीति गर्न खोज्ने ? गणतन्त्रको स्थायित्वको लागि पनि दोषिले सजाय र पीडितले न्याय पाउनु पर्छ ।
न्याय मर्छ कि भन्नेमा जनतामा अविश्वास फैलिएको छ । अर्कोतिर राम्रोसँग घटनाक्रम नबुझिकनै घटना मोडिन्छ कि भन्ने शंका छ । असल राजनीति गर्ने हो भने जनताले हरेक कुरामा न्याय पाउन आवश्यक छ । घटनाको अनुसन्धानदेखि छानविन समेतमा पनि कसैले प्रभाव पार्नु हुँदैन । घटनालाई छानविनकै दायरामा आउन नदिन राजनीतिज्ञहरु घटना बङ्ग्याउने तिर लाग्नु हुँदैन ।

राजनीतिक दलको संगठनको आकारका आधारमा कसैले पनि सानो ठूलो भन्दा पनि कसरी सत्यतथ्य हुने र यथार्थपरक बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ । अहिलेपनि पुरानो सोच र मानसिकता जीवितै रहेको छ । विचार फरक भएपनि, राजनीतिक आस्था र विचारमा फरकता राखेपनि जनता सबैका हुन् भन्ने भावनामा आँच आउन दिनु हुँदैन राजीवको भनाई छ ।