Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

एमसीसी खारेजको माग गर्दै जनमोर्चाको विरोध प्रर्दशन

सुर्खेत ।
राष्ट्रिय जनमोर्चाले आज वीरेन्द्रनगरमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध विरोध प्रदर्शन गरेको छ । जनमोर्चाको आज देशब्यापी राष्ट्रघाती एमसीसी सम्झौताका खारेजीको माग गर्र्दै विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेकोछ ।


वीरेन्द्रनगरको नेताचौकमा सामाजिक दुरी कायम राख्दै गरिएको प्रर्दशनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य रत्नविक्रम राना प्याशीले संसदमा विचाराधिन एमसीसी पारित गराएर सरकारले नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजेको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।

केन्द्रीय सदस्य प्याशीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा स्वयं अमेरिकी सरकारी अधिकारीहरुले बोलिसकेका छन् र त्यो हिन्द प्रशान्त रणनीतिको अंग हो भन्ने कुरा सम्झौतामा उल्लेख भएका विषयहरुबाट पनि प्रष्ट हुन्छ । तर नेपाल सरकारले त्यसरी प्रष्ट भएको विषयलाई हिन्द प्रशान्त रणनीतिको अंग नभएको भन्ने भ्रम पैदा गरी संसदबाट पारित गराउने प्रयत्न गर्नु यो नेपाल र नेपाली जनताको स्वाभीमान माथिको हमला हो भन्दै प्याशीले अमेरिकी साम्राज्यवादको सेवा गर्ने नीतिको विरुद्धमा सम्पूर्ण देशभक्त नागरिकहरु एकढिक्का हुनु पर्ने बताए ।


सरकारका राष्ट्रघाती कार्यका विरुद्धमा सम्पूर्ण देशभक्त जनताको संयुक्त संघर्ष र आन्दोलन एकमात्र विकल्पको हो । यसर्थ राष्ट्रघाती सम्झौताका विरुद्धमा जनताको देशभक्तिपूर्ण संघर्ष र आन्दोलनले सरकारको राष्ट्रघाती प्रयत्नलाई असफल बनाउने कुरामा दईमत नभएका भन्दै सबैलाई भ्रममा नरही आन्दोलनमा होमिन आव्ह्वान गरेका छन् ।

विरोध प्रर्दशनलाई सम्बोधन गर्र्दै राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले देशमा एमसीसी पारित भएमा नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीति समाप्त हुने बताए ।

असंलग्न परराष्ट्र नीति समाप्त भएमा नेपाल अमेरिकी साम्राज्यवादको खेमामा पुग्ने छ र अमेरिकी साम्राज्यवादी सैन्यक्रिडा स्थल बन्ने सुवेदीले ठोकुवा गरे । अध्यक्ष सुवेदीले त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा चुनौति सृजना हुने बताए । यसर्थ एमसीसी पारित गर्न खोज्नु गम्भीर राष्ट्रघात हुने बताए ।


एमसीसीविरुद्ध नेकपा (मसाल) लगायतका १० राजनीतिक दल तथा संगठनहरुले लगातार संयुक्त कार्यक्रम गर्दै आएका छन् भने राजमोले एकल आन्दोलन पनि गर्दै आएको छ ।