Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कर्णालीमा थपिए १६ जना कोरोना संक्रमित

सुर्खेत ।

कर्णालीमा थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

दैलेखको गुराँस गाउँपालिका-४ र डुङ्गेश्वर गाउँपालिकाका दुई/दुईजना पुरुष रहेका छन् भने नारायण नगरपालिका वडानम्बर ३, ६, नौमुले गाउँपालिका-१,७, ८ र आठबीस नगरपालिका-७ का एक/एकजना पुरुष रहेका छन् ।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका-२ र ३ वडाका तीनजना पुरुष, कुमाख गाउँपालिका १ र ३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । सुर्खेतका संक्रमित बराहताल गउँपालिका-१० का युवक हुन् ।

अहिले सम्मको संक्रमण र परिक्षण रिपोर्टलाई हेर्दा कर्णालीका धेरै जसो युवाहरुमा कोरोना देखिएको छ । १५ बर्ष देखि ४० बर्ष सम्मका पुरुषहरु भारत लगायका ठाउँमा मजदुरी गर्न जाने भएकाले ती युवाहरुमा संक्रमण बढि देखिएको रिपोर्टले देखाएको छ । सोमबार संक्रमित हुनेहरुमा पनि धेरै युवा नै छन् ।

कुन जिल्लाका संक्रमित कति ?

कर्णालीमा सोमबारसम्म संक्रमितको संख्या ६५७ पुगेको छ । हालसम्म सबैभन्दा धेरै दैलेखका ३६७ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि सल्यानमा १२४, सुर्खेतमा ९२, कालीकोटमा २८,  जुम्लामा २२, जाजरकोटमा ५, मुगुमा २, डोल्पा र हुम्लामा एक/एकजनामा संक्रमित छन् ।

प्रदेशका १० जिल्लामध्ये हालसम्म  रुकुम पश्चिममा भने कोरोना संक्रमण देखिएको छैन ।