Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

आज विश्व बालश्रम विरुद्ध दिवस

सार्वजनिक यातायातको मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक, ढोकामा ठटाउँदै मान्छे बोलाउँदै चालक र यात्रूबिचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ, ढोकाको ढकढक्याईले यात्रुलाई गाडी चढ्न जनाउ त गर्छ तर आँखै अगाडी उसको बालअधिकार हनन गरीरहँदा समेत त्यो ढकढक हाम्रा हृदयका ढुकढुकीहरुले किन सुन्न नसकेको हो ?

घरबाट निस्केको फोहोरजन्य फाल्नपर्ने कुराहरुमध्ये केही संकलनकालागि बोरा बोकेर आएका सडक बालबालिकाहरु कहिले यताबाट खेदिन्छन्, कहिले उताबाट, हपारीन्छन्, सभ्य समाजको तुच्छताको सामना गर्छन् । उनिहरु पनि हाम्रा छोराछोरी, भाईबुईना अनि हामी स्वंयमका बालसखा, सङ्गीहरु जस्तै हुन भनि किन बुझ्न नसकेका ?

अभिभावकको आर्थिक अवस्था, विभिन्न दैवी प्रकोपले एक्लीएका तथा रोजगारी तथा शिक्षादिक्षाको आकर्षणमा परेर शहर भित्रिएका केटाकेटीहरूलाई घरेलु कामदारका रूपमा बालबालिकाहरुलाई भारी र जोखिमयूक्त कार्य लगाउने, पढ्न नपठाउने र पठाईएमा पनि पर्याप्त पढ्न समय नदिने, यातना दिने, गालीगलौज तथा विभिन्न अनावश्यक लान्छना-आक्षेप लगाई ठालू पल्टिने क्रम हाम्रो समाजमा अझै जिवितै छ, हैन र ? जिवितै भएरै होला समय-समय कहिले कलिला मुनाहरू दागीएका, चुटिएका, कुटिएका आलो घाउहरूका साथ कलिलै उमेरमा भोग्नुपरेका पीडाका आ -आफ्ना कथाहरू लिएर सार्वजनिक हुन्छन् ।

नेपालमा बालबालिकाको हक अधिकारको रक्षा गर्न बनेका बालबालिकासम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई आय आर्जनकालागि श्रम गर्न अथवा कसैले श्रमिक बनाउन बर्जित गरेको छ । यो जून महिनाको १२ तारिखमा विश्वभरि मनाईने अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवसले नेपाली समाजलाई पनि यस बारेमा झकझक्याउन सकोस् ।

भारतका विश्वबिख्यात बालअधिकार अभियन्ता अनि नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीका भनाई यहाँ राख्न चाहन्छाैं, “शिक्षा बिनाको बाल्यकाल बाल्यकाल नै हैन् र स्कूलबाट बञ्चित एकजना युवा भएपनि धेरैजना बञ्चित भए सरह हो ।” वास्तवमै अत्यन्त दुःखदायी कुरा हो कि लाखौं बालबालीकाहरु बिभिन्न कारणले आफ्ना न्यूनतम बाल अधिकारबाट वञ्चित छन् । उनिहरुको हास्ने खेल्ने र पढ्ने बाल्यकाल खोसिन्छ र अझ दुःखदायी कुरा त यो हो कि यती कुराहरु हेरेर पनि पीडक झै समाज अझै मौन छ, चेतनाको स्तर बढेका होलान तर केटाकेटीको स्थिती अझै उस्तै छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । यस भागका अनुसार बालबालिकाले हप्ताको १४ घण्टा कार्य गर्न सक्नेछन् तर यस कार्य वापत उनिहरुको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानी पुग्न हुँदैन ।

अब कल्पना गरौं माथी उल्लेखित हाम्रा समाजका बालबालिकाहरु जो सार्वजनिक यातायातमा खलासी छन् या बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन् होटलमा खाना पस्किंदै छन्, ग्राहकले खाएको जुठो कटकटिएको भाँडामा आफ्नो भविष्यको धमिलो छाँया खोज्दैछन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ त ?

के हो त बालश्रम ?

शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कूल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रुपमै बालबालिकालाई असर पुर्‍याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यकालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।

कुनै पनि देशमा बालश्रमको अवस्था कायम हुनु उक्त देश अल्पविकासित हुनुको प्रतिविम्ब पनि हो । जसरी देशको विकासमा सबै नागरिकको भूमिका महत्वपूर्ण हुन्छ, बालबालिकाको भूमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । बालबालिका समाजका महत्वपूर्ण जनसंख्या हुन्, जो देश विकासमा अावश्यक तत्व (डाक्टर, इन्जिनियर, समाजसेवी, नेता, पाइलट….) बन्नकालागि निर्विकल्प उर्जा हुन्, वर्तमानका प्रतिक हुन् । उनीहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउन सक्नुपर्छ, तर समाजमा यी सबै कुराको वेवास्ता गरिन्छ अनि बालश्रमको समस्या दिनानूदीन चुलिंदै गइरहेको छ ।

किताब-कापी बोकेर विद्यालय जानुपर्ने बालबालिका जोखिमयूक्त काममा संलग्न हुँदा उनीहरुको चौतर्फी विकास अवरुद्ध हुनेभएकोले संयुक्त राष्ट्रसंघले कुनै पनि बालबालिकालाई श्रमिकका रुपमा प्रयोग हुनबाट रोकेको छ । प्रथम विश्वयूद्धको समाप्तिसम्म पनि अहिलेका अत्यन्त विकसित मूलुकहरुमा समेत बालबालिकाहरुलाई कृषिजन्य कार्यहरूमा, विभिन्न कल-कारखानाहरूमा तथा अधिक्तम मात्रामा कोइला खानीमा लगाइन्थ्यो । उनीहरुलाई घरायसी कामकाजमा लगाउनु त सामान्य जस्तै थियो, सरदर उनीहरू १२ घण्टाभन्दा बढिसमयसम्म काममा कजिन्थे । बालबालिकाहरुलाई यसरी जोखिमपूर्ण तरिकाले काम लगाउने कार्यलाई उतिबेलाको समाजले सामान्य रुपमा लिन्थ्यो, तर यस्ता कार्यले बालबालिकाको समग्र विकासमा गहिरो असर पारिरहेको तथ्यहरु सार्वजनिक हुँदै गएपछि बालश्रमका विरुद्ध विभिन्न राष्ट्रहरूमा सामाजिक चेतनाका अभियानहरु संचालन हुन थाले । संसारभर बालश्रम विरुद्धका कानूनहरु बन्न थालेपछि बालश्रम न्यूनिकरण गर्न मद्दत पुग्न थाल्यो र बालश्रम विरुद्धको दिवसको बहानामा सामाजिक चेतना छर्नकालागि सबैको चाँसो सहितको जिम्मेवारी प्राप्त भयो ।

बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ ।

नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरीब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो तथापि हामी माया अनि सद्भावमा भने पक्कै गरीब छैनौ । बालवालीका प्रति जिम्मेवार अनि बालश्रममुक्त समाज केवल कागज, स्टिकर, ब्यानर या प्रस्तावना-पत्रमा मात्र नभई समग्रमा खुशमय बालपनको स्वतन्त्रता सहितको बालबालिका भएका देशको सपना साकार बनाउन हामीसबैले आफ्नो ठाउँबाटै बालश्रममूक्त समाज निर्माणको प्रयास थाल्नुपर्छ ।

कमलको फूलजस्तै कैंयन बालिकाहरू अझैपनि कमलरी जस्तो कू-प्रथामा बन्धक छन्, धेरै अझै हुनसक्छन्, समाजलाई यसबारे खबरदारी गर्न जरूरी छ । बिभिन्न बहानामा आधूनिक दास बनाइएका त्यस्ता अबोध बालबालिकाहरूलाई छुटकारा दिनलाई तिनको जीवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामिमा छ त ?

आजको नेपाल शिक्षित नेपालीहरुको सभ्य देश हो, बालश्रमजन्य सेवाहरु र बस्तुहरु वहिष्कार गर्ने सार्मथ्य हामी सबैमा होस । राज्यको संयन्त्र अनि प्रावधानमा बालश्रम विरोधी अनि बालसुलभ कार्य र संरक्षण अभियान प्रभावकारी रूपमा लागू होस । श्रम र बालबालीका छुट्याएर समानताको लहर छाओस् ।

दुईछाक खान नसक्ने परिवारका बालसदस्यहरु श्रममा जानपर्ने बाध्यता आखीर कहिलेसम्म हुन्छ त नेपालमा ?
बालबालिका राज्यका दायीत्व हुन, फूलहरुले फक्रन पाउन, संसारभर अाफ्नो योग्यताको रङ्ग छर्न पाउन । सबैको जयहोस् ।

हाम्रो पात्रोबाट साभार सामाग्री