वीरेन्द्रनगरको सातौं नगरसभा : कृषि, स्वास्थ्य र पूर्वाधार विकास
सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने जनाएको छ । नगरपालिकाले कोरोना महामारी नियन्त्रण र सामाजिक विकासलाई पनि प्राथकितामा राखेको छ ।
कार्यवहाक नगर प्रमुख मोहनमाया ढकालले बुधवार आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिइएको बताउनु भयो । उहाँले कृषिमा उत्पादकत्व वृद्धिका लागि आवश्यक पर्ने कृषि सामग्रीहरु मल, बीउ, प्राविधिक सहयोग, कृषि सिंचाई, विद्युत, यान्त्रिकीकरण, कृषि वीमा र बजार पूर्वाधारको सुनिश्चितता गरिने बताउनु भयो । नगरभित्र उत्पादन हुने फलफुलमा आँप, कागती, केरा, किवी र खाद्यन्नमा कोदो, धान, गहुँ, मकै, सिमी मसुरो, मास केराउ आदीलाई प्राथमिकतामा राखी प्रवर्दन गरिने प्रतावित कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यवहाक नगर प्रमुख ढकालले वडा नम्वर ५, ६, ७ र ८ लगायतका वडामा कौशी खेती, ‘एक सहकारी, एक उत्पादन’ नीति अबलम्बन गरिने, प्रत्येक वडामा एक सहकारी संस्थाहरुलाई कृषिमा आधारित व्यवसाय सञ्चालनमा सहजीकरण गरी नमुना सहकारीको रुपमा विकास गरिने बताउनु भयो । यस्तै, कृषि योग्य भूमिलाई गैर कृषि क्षेत्रमा प्रयोग गर्न निरुत्साहित गर्ने, व्यक्तिगत खेतीयोग्य जमिन बाँझो राख्नेलाई बारवाही गर्ने र जमिनको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल, जैविक मल अनुदानमा उपलब्ध गराइने छ ।
त्यस्तै, कोरोना भाइरस ९कोभिड १९० बाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गरिने, संक्रमित व्यक्तिको उपचारका लागि एक सय वेडको आईसोलेसन तयार गर्ने, संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, कार्यवहाक नगर प्रमुख ढकालले महिलाहरुको पाठेघर क्यान्सर परीक्षण शिविर क्याम्प वर्षको रुपमा कार्यान्वयन गरिने भएको छ । गर्भवती महिलालाई निस्शुल्क भिडियो एक्सरे, एम्बुलेन्स सेवा, निस्शुल्क सेनेटरी वितरण गरिने बताउनु भयो ।
नगरसभाले पूर्वाधार विकासलाई पनि जोड दिएको छ । ढकालले नगरपालिकाको सुब्वाकुना देखि फलाटेसम्म सहायक राजमार्ग हर्ट लाईनको नक्शाकंन गरी निर्माण कार्यको प्रकृया अगाडी बढाउन प्रदेश सरकार र संघीय सरकारसंग सहकार्य गरिने जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०७७÷०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
आर्थिक विकास लागि चार करोड ३६ लाख दश लाख, सामाजिक विकासका लागि १२ करोड ३० लाख ३१ हजार, पुर्वाधार विकासका लागि १४ करोड २९ लाख ४५ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वातावरण विपद तर्फ २ करोड ३१ लख ७५ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ३९ करोड ४० लाख ४६ हजार ९ सय ४९ रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै, आर्थिक वर्षमा चालु खर्च तर्फ ९० करोड ४० लाख १४ हजार चार सय, पुँजीगत खर्च तर्फ ५१ करोड ६७ लाख ९८ हजार चार सय २३ र वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।







