Loading... आजः २० बैशाख २०८१, बिहीबार । Thursday 2nd May 2024

शुक्रवारदेखि बजार संचालनमा थप कडाई हुने

सुर्खेत ।
केही समयदेखि लकडाउन खुकुलो भएको मौकामा वीरेन्द्रनगर बजारका सवै पसलहरु संचालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अव भने थप कडाई गर्न लागेको छ । बुधवार प्रशासनले एक सूचना जारी गरी आगामी शुक्रवारदेखि पसलहरु खुल्ला गर्ने समयमा कडाई गर्न लागेको हो ।
स्वास्थ्य र सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने भनिएपनि नभएपछि कोरोना सङ्क्रमण बढ्न सक्ने भएकोले प्रशासनले कडाई गर्न लागेको छ । सूचना अनुसार अत्यावश्यकीय बस्तुका पसलहरु फलफूल, तरकारी, दुध, ग्याँस, औषधि पसलबाहेक अन्य पसलहरु हप्तामा कम्तीमा एकपटक शनिवार बन्द गर्नुपर्ने र अन्य दिनमा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुल्ला गर्नुपर्नेछ ।
यसैगरी होटल रेष्टुरेन्टलगायतका खाजा नास्त पसलहरु (होम प्याक बाहेक), सैलुन तथा व्युटिपार्लर पूर्णरुपमा वन्द गर्नुपर्ने, खुला रहने पसलहरुमा अनिवार्यरुपमा मूल्यसूची टाँस गर्नुपर्ने, सुरक्षा मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने र सवारी साधनमा जोरविजोर प्रणालीलाई यथावत राखी तीन पांग्रे सवारी साधनलाई पूर्णरुपमा वन्द गर्न भनिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधवारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरुलाई अनिवार्यरुपमा पालना गर्न सवैलाई प्रशासनले आव्हान गरेको छ ।