इलाका प्रशासन स्थापनाका लागि आवश्यक पहल गर्छु : प्रमुख जिल्ला अधिकारी रेग्मी
सुर्खेत, १९ असार ।
छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि नगरपालिकाले गरेको निर्णयअनुरुप आवश्यक पहल गर्ने सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभएको छ । भेरीगंगा नगरपालिका सुर्खेतले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई गरेको स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

यो क्षेत्रको प्रशासन, शान्ति सुरक्षालाई अझ मजबुत गराउनका लागि मेरो तर्फबाट सबै पहल हुनेछ, उहाँले भन्नुभयो, कर्णाली प्रदेशको प्रवेशद्धारभएकोले पनि यहाँ सुरक्षा उपस्थित बढाउनुपर्छ ।
नगरपालिकाले दुई पटक छिन्चुमा ईलाका प्रशासन कार्यालय स्थापनाका लागि नगरसभामार्फत निर्णय गरी पठाएको विषयलाई आवश्यक निर्णयका लागि सिफारिस भईसकेको समेत जानकारी दिनुभयो । उहाँले बजार अनुगमन, विकास निर्माणलगायतका सम्पूर्ण कार्यमा पारदर्शीताका साथ काम गर्नुपर्ने भन्दै स्थानीय सरकारले धेरै कार्य गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले नगरपालिकाले गरेका महत्वपूर्ण निर्णय कार्यान्वयका लागि सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । उहाँले भेरीगंगा ५ बबई क्षेत्र हालसम्म नक्सांकनमा नसमेटिएको भन्दै सो कार्यका लागि समेत आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो ।






