निजी विद्यालयलाई प्याब्सनले भन्यो : चोरबाटोबाट शुल्क नउठाउनू
काठमाडौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो ।
‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि विद्यालयले चोरबाटोबाट शुल्क नलिन आग्रह गर्दछु ।’
आइतबारदेखि अनलाइन कक्षा बन्द गर्ने चेतावनी
निजी विद्यालय सञ्चालकहरूले गत बुधबार राहत प्याकेजसहितको प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ । शुक्रबार साँझसम्म सरकारले आफूहरूको माग पूरा नगरे पठनपाठन ठप्प पार्ने प्याब्सनले चेतावनी दिएको छ ।
‘हाम्रो माग पूरा नभए शनिबार बैठक बसेर आइतबारदेखि सम्पूर्ण अनलाइन कक्षा बन्द गर्ने निर्णय गर्छौं’ प्याब्सन अध्यक्ष पुरी भन्छन् । वैशाखदेखि शिक्षकहरूलाई तलब खुवाउन नसकेको उनको भनाइ छ ।
बैंकको व्याज, किस्ता र भाडा तिर्न नसकिरहेका बेला शुल्क उठाउन नपाउने भएपछि अनलाइन कक्षा सञ्चालन गर्नुको तुक नभएको पुरीको भनाइ छ ।

चैत होइन वैशाखको शुल्क नलिने
कोभिड–१९ महाकारीका कारण लगाइएको लकडाउनलाई मध्यनजर गरेर सरकारले चैत महिनाका शुल्क मिनाहा गर्न निर्देशन दिएको थियो । प्याब्सनले भने चैतको सट्टा वैशाखको शुल्क मिनाहा गर्ने प्रस्ताव गरेको छ ।
‘चैतको शुल्क लिइसकेकाले फिर्ता गर्नु भन्दा वैशाखको छुट दिन्छौं’ अध्यक्ष पुरी भन्छन्, ‘यो वर्ष ११ महिनाको मात्रै शुल्क लिन्छौं ।’
शिक्षा मन्त्रालयले भने अनलाइन कक्षा, विद्यार्थी भर्ना वा कुनै पनि शीर्षकमा शुल्क नलिन निर्देशन दिएको छ ।
अन लाइन खबर बाट






