Loading... आजः २६ कार्तिक २०८३, बुधबार । Wednesday 11th November 2026

अनुपमा कराराका दुइ गजल

गजल – एक

कसैको विश्वास जित्नु र कसैलाई जिताउनु हो।
लाग्छ जिन्दगी केही पाउनु केही गुमाउनु हो।

अनुपमा करारा

हार्नु को संकेत रुनु र पीडा पोख्नु हो भने
जित्नुको संकेत आँसु पुछेर मुस्कुराउनु हो।

तिमी सुर्य छोपेर बिहानी ल्याउछु भन्छौ
बिहानिको अर्थ त सुर्य उदाउनु हो।

भाइ भाईमा लडाई गरेर रमाउंछौ भने
न सोंच तिमी रमाउनु नै आमा रमाउनु हो।

गजल – दुइ

सोंचेका सबै कुरा सफल हुंदैन
राम्रा कुरा पनि छलफल हुंदैन
माया सबैभन्दा ठूलो सम्पत्ती हो
तर यो चल र अचल हुंदैन।
अरु जस्तै होइन आफु बन्नु पर्छ
गर्नु कसैको पनि नकल हुंदैन
कोसिस गर्नु पर्छ केही पाउनलाई
मुखमै आउने कुनै फल हुंदैन।
निर्जीव मुर्ती झै भाकी छ विवश
उस्को मनमा कुनै हलचल हुंदैन।