नेकपा स्थायी कमिटी बैठक २४ गतेसम्म स्थगित
काठमाडौं |
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित भएको छ। कम्युनिस्ट पार्टी (नेकपा प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक २४ गते बुधबार ११ बजेसम्म स्थगित भएको जानकारी दिए।
नेकपाभित्र चर्कँदै गएको आन्तरिक कलहले गम्भीर मोड लिएपछि शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले आज बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक सरेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली बिहीबार संसद अधिवशेन अन्त्य गर्ने तहसम्म पुगेपछि शुक्रबार एक दिन गृहकार्य गरेर शनिबार बैठक तय गरिएको थियो। शनिबार पनि थप छलफल गर्ने भन्दै स्थगित गरिएको बैठक फेरि स्थगित भएको हो।
आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच बालुवाटारमा आइतबार पनि छलफल भएको थियो। बालुवाटारको वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बसे भने प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए। छलफलमा दुवै अध्यक्ष आफ्नो अडानमा बसेपछि कुरा मिल्न नसक्दा फेरि सोमबार छलफल गरेर अगाडि बढ्ने सहमति भएको थियो।
दुई अध्यक्षले पार्टी विवादको समाधानको खोजी गरी खाका बनाउन अनौपचारिक कार्यदल बनाएका छन्। दुवै अध्यक्षले आफूहरूसँगै छलफलमा रहेका नेताहरूलाई तपाईंहरूले पनि होमवर्क गर्नुस् भनेपछि बैठकमा सहभागी पौडेल, पोखरेल, पुन र शर्माको छलफललाई कार्यदलको अर्थमा नेताहरूले बाहिर बुझेका छन्। तर यो कुनै औपचारिक कार्यदल भने होइन।
केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर
पार्टी विवाद केन्द्रीय समिति बैठकबाट टुंगो लगाउने र एकता प्रक्रिया टुट्न नदिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने भन्दै नेकपाका युवा नेताहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। केन्द्रीय कार्यालय धुम्बाराहीबाटै केन्द्रीय सदस्यहरू ठाकुर गैरे, हिमाल हर्मा, वलावती शर्मालगायत हस्ताक्षर अभियानमा छन्। शनिबार नेकपाका ५३ जना केन्द्रीय सदस्यले पार्टीभित्रको विवाद र पार्टी एकताको पक्षमा जुम मिटिङ गरेर केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने निर्णय गरेका थिए।
त्यही आधारमा गैरेलगायत नेताहरूले हस्ताक्षर सुरु गरेका हुन्। आइतबार दिउँसोसम्ममा झन्डै ७० जना बढी नेताहरूले हस्ताक्षर गरिसकेका छन्। नेकपाका १ सय १० जना नेताले हस्ताक्षर गरी पार्टी बैठक माग गरेमा विधानत बैठक बोलाउनु पर्ने हुन्छ। ४ सय ४५ सदस्यीय केन्द्रीय समितिका २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने पार्टीको विधानमा व्यवस्था छ।
अन्न पूर्ण पोष्ट बाट






