Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

पहिरोले घर पुरियो परिवार विद्यालयमा

दैलेख ।
दैलेखको भगवतीमाई वडा नं. ३ र ४ मा आएको बाढीले खेतलाई बगर बनाएको समय धेरै वित्न नपाउँदै भगवतीमाइ ५ मलुकामा आएको पहिरोले घर पुरिँदा परिवारका मान्छेहरु विद्यालयमा बस्न बाध्य भएका छन् ।

पहिरोले आधा पुरेको नरु शाहीको घर

समयमा नै पहिरो गएको थाहा पाएपछि मानविय क्षति भने हुन पाएन वडा नं. ५ का वडाअध्यक्ष कृष्णबहादुर शाहीले बताए । पहिरो आउने सम्भावना देखेपछि परिवारलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको छ भने कसैलाई आफन्तको घरमा राखिएको वडा नं ५ का वडा अध्यक्ष कृष्णबहादुर शाहीले बताए । उनका अनुसार श्री जनप्रिय आधारभूत विद्यालय सहित यस क्षेत्रका करिब १० घर जोखिम रहेका छन् ।
भगवतीमाई गाउँपालिकाको वडा नं. ५ मलुका भौगोलिक अवस्था हेर्दा वषर्नी पहिरोको जोखिम देखिन्छ ।

त्यसैमा असारे विकासले गाउँ नै पहिरोको जोखिम रहने गरेका उदाहरण धेरै छन् । विकास निर्माणका काम गर्दा भौगोलिक अवस्थालाई नहेरी डोजरले आतंक मच्चाएर सडक बनाउँदा वर्षातको समयमा स्थानीयहरुको विचल्ली हुने गरेको छ ।

असारको महिनामा पहिरो जान थाले पछि गाउँमा बस्ने नागरिकहरूमा चिन्तित भएका छन् । स्थानीयहरुका अनुसार कोरोनाको महामारी जता ततै छ । त्यसैमा घरमा पहिरो आउँने डरले रातभर निद्रा लाग्दैन ।

घर माथिबाट एक्कासी पहिरो आए पछि नरु शाही र अमर शाहीको घरमा क्षती भएको छ । यस अघि नै प्रहरी चौकी बेस्तडाका प्रहरी सहायक निरीक्षक जीतबहादुर खड्काले नरु शाहीको घर पहिरोको जोखिममा रहेको बताएका थिए । उक्त स्थानमा १० कठ्ठा बराबरमा लगाएको धान र मकै खेतीमा समेत क्षती पुगेको छ ।