महिला कुट्ने प्रहरी कारवाहीमा
रुकुम पश्चिम ।
केही दिन अगाडिदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको थियो । कर्णाली प्रदेशको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएको उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि त्यसको बारेमा छानविन गर्न प्रशासन बाध्य भयो । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुव्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको बताइएको थियो ।
कसैले कानून विपरित कार्य गरेमा त्यसलाई कानून बमोजिम कारवाही गर्ने अधिकार बोकेको प्रहरी प्रशासन नै निर्घात रुपमा एउटी महिलालाई कुट्न थालेको भिडियो बाहिरिएपछि प्रहरी प्रशासन माथि नै प्रश्न चिन्ह खडा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।
आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटक–पटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।
भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । उनले भने, ‘त्यतिवेलाको परिस्थिति जस्तो सुकै भएपनि भिडियो हेर्दा आचरण विपरित कार्य भएको देखिन्छ, दोषी ठहरिए कानून अनुसार कारबाही हुन्छ ।’
कुटपिटको घटना नगरपालिकासँगै जोडिएको नगर प्रहरी कार्यालयको भान्सा अगाडि भएको हो । डीएसपी केसीका अनुसार हेल्प डेस्कमा मदिरा सेवन गरेर होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा उनले प्रहरीलाई हातपात गरेको केसीको भनाइ छ । नगरपालिकाका मेयर केसीका अनुसार त्यसवेला उनी अर्धनग्न अवस्थामा थिइन् ।
‘झोलुंगे पुलमा ड्युटीमा बसेको प्रहरीमाथि हातपात भयो, त्यसवेला पुरुष प्रहरीले उनलाई पक्राउ गर्ने कुरा भएन’, उनले सुनाए, ‘बजारमा एक जना महिलाले उहाँलाई कपडा लगाइदिनु भयो र नगर प्रहरीमा महिला भएकाले बोलाएर नियन्त्रणमा लिन खोजिएको रहेछ ।’
डीएसपी केसी मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर भान्सामा लगेर उनलाई पानी खन्याइदिएको पाइएको बताउँछन् । मेयरका अनुसार इलाका प्रहरी कार्यालय, आठविसकोटमा महिला प्रहरी छैनन् । अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।
भिडियो नरेश महराको फेसबुकबाट
https://www.facebook.com/naresh.mahara.1238/videos/588652125414235/?t=45






