सुर्खेतमा हिरासतमा रहेका व्यक्तिमा संक्रमण, थुनुवा कक्ष सिल
सुर्खेत –
सुर्खेत प्रहरीको हिरासतमा रहेका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका हुन् ।
वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा यहि असार १४ गते पक्राउ परेका थिए । हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेश अनुसार २० गते उनको स्वाब संकलन भएको थियो । असार २६ गते आएको रिपोर्टमा संक्रमण देखिएपछि हिरासत कक्ष सिल गरिएको डीएसपी घर्तीले जानकारी दिए ।
उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेशनमा राखिएको उनले बताए । उनको सम्पर्कमा आएका आफन्त तथा प्रहरीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जनाइएको छ ।






