Loading... आजः ८ आश्विन २०८३, बिहीबार । Thursday 24th September 2026

कम्प्युटर वा ल्यापटपबाट आँखा जोगाउने १० टिप्स

कम्प्युटर र ल्यापटपसँग पनि प्रेमका केही नियम छन्, यी नियम नमान्ने हो भने तपाईंको आँखालाई ‘कुदृष्टि’ लाग्न सक्छ।

आँखा हुनुको सबैभन्दा ठूलो फाइदा के होरु यो प्रश्न सोध्ने हो भने आजको युगको मान्छेले भन्न सक्छ, ‘आँखाको सबैभन्दा ठूलो फाइदा हामीले कम्प्युटरमा हेर्न सक्छौं।’

हाम्रो नाति पुस्ताले कुनै बेला मानिस कम्प्युटर वा ल्यापटप विना पनि जीवन सहज रुपले चलाउँथे भन्दा नपत्याउने अवस्था आउन सक्छ।

हाम्रो जीवन यति कम्प्युटरग्रस्त भइसकेकाले हाम्रो शरीरमा सबैभन्दा ठूलो दबाब आँखामा परिरहेको छ। कम्प्युटरमा हेर्नु अन्यत्र हेर्नुजस्तोसामान्य घटना होइन। किताब पढ्नु वा टाइपिङ मसिनमा टाइप गर्नुजस्तो पनि होइन। कम्प्युटरमा लेखिएका कुरा पढ्नु वा कम्प्युटरमा निरन्तर आँखा गाडिराख्नु बेग्लै कालको प्रक्रिया हो।

कसरी त ?

कम्प्युटर स्क्रिनमा जस्ता पनि आकृति होऊन् ती धेरै विन्दु (डट) मिलेर बनेका हुन्छन्। र यी इलेक्ट्रोनिक बिन्दु लगातार हल्लिरहेका हुन्छन्।
आँखाले निरन्तर चलायमान यी बिन्दुलाई पछ्याइरहनुपर्छ। त्यसका लागि आँखा पनि निरन्तर चलायमान भएर यी बिन्दुको गतिसँग तालमेल मिलाइरहेको हुन्छ– ताकि हामी कम्प्युटरका आकृतिरअक्षर ठिकसँग हेर्न सकौं।

परिणाम आँखा निरन्तर चलायमान भइरहँदा थाक्छ र तनावको लक्षण देखिन थाल्छ।

कम्प्युटर स्क्रिनको वरपर ‘स्टेटिक इलेक्ट्रिकल चार्ज’ पनि उत्पन्न भइरहेको हुन्छ जसले वरपरका धुलोका कण आफूतिर आकर्षित गर्छ। यी कण आँखामा पनि जम्न पुग्छन् र आँखामा दुखाइ सुरु हुन्छ।

आँखा सुख्खा हुन्छ र चिलाउन थाल्छ। एलर्जी पनि बढ्न थाल्छ।

कम्प्युटरमा निरन्तर काम गरिरहँदा आँखा थाक्छ। छटपटी बढ्छ। काँध र गर्धन दुख्न थाल्छ। टाउको दुख्न सक्छ। चिड्चिडाहट हुन थाल्छ। विना कारण रिस उठ्छ र शरीरमा थकान बढ्छ। निद्रा पर्दैन।

बालबालिकामा आँखामा आउने तनावको लक्षणले थप क्षति पुग्न सक्छ। बालबालिकाको आँखा कम्प्युटरको मध्यम प्रकाशमा बानी पर्न थालेपछि उनीहरुलाई सूर्यको उज्यालो मन पर्दैन। उनीहरु बाहिर जान रुचाउँदैनन्। बाहिर खेलेनन् भने साथीभाइसँगको सम्बन्ध टुट्छ, सामाजिकीकरण प्रक्रियामा ठूलो अवरोध उत्पन्न हुन्छ।

आँखामा निरन्तर तनाव भइरहँदा बालबालिकालाई खान रुच्न छोड्छ। अचेल बालबालिकामा झगडा गर्ने, जिद्दीपन बढ्ने जस्ता लक्षणको कारण ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन सक्छ।

कम्प्युटरअगाडि बसेर समय खेर फाल्नु यसै पनि राम्रो होइन तर, त्यसकै कारण उत्पन्न अन्य समस्याले थप समय पनि उत्पादक हुँदैन।
यहाँ हामी बालबालिकाले कम्प्युटरमा गलत सामाग्री हेर्न सक्ने प्रति चर्चा गरिरहेका छैनौं। यसबाट पर्ने असर त अर्को बहसको पाटो हो।
त्यसो भए कम्प्युटरमा काम गर्न छोड्ने तरु यो त सम्भव नै छैन।

कम्प्युटर छोड्न सकिँदैन। यो आधुनिक जीवनको अपरिहार्य तर, हानिकारक यन्त्र भएको छ।

त्यसो भए के गर्ने तरु यस्ता छन् १० टिप्स

१। कम्प्युटरको स्क्रिन आफ्नो आँखाको लेभलभन्दा ६ देखि ८ इन्चसम्म तल राख्ने।

२। कम्प्युटरलाइ सूर्यको उज्यालोमा राखेर काम नगर्ने। धेरै चहकिलो उज्यालोमा पनि कम्प्युटर नहेर्ने। टाउकोमाथिबाट तेज र चम्किलो प्रकाश नहोओस् भन्नेमा ध्यान दिने। चहकिलो प्रकाशमा काम गर्दा आँखामा तनाव उत्पन्न हुन्छ।

३। कम्प्युटरमा लगातार नबिराई धेरै बेर काम नगर्ने। प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने। पाँच मिनेट ब्रेक लिँदा पहाड खस्दैन।

४। कम्प्युटर स्क्रिन र आँखाबीचको दूरी कम्तीमा २० इन्च राखेर काम गर्ने।

६। भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने । आँखाको कनभर्जेन्स व्यायाम गर्ने। ‘त्राटक क्रिया’ यस्तै खाले व्यायाम हो। कुनै पनि आँखा विशेषज्ञले ‘कनभर्जेन्स एक्सरसाइज’ बारेमा बताउन सक्छन्। यो व्यायाप विशेष गरी ‘मायोपिक’ चस्मा (टाढा हेर्दा आवश्यक चस्मा) लगाउने व्यक्तिले गर्नु झन् जरुरी छ।

७। कुनै लिखित दस्तावेजसँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने दस्तावेजलाई कम्प्युटर स्क्रिनसँगै राख्नुहोस्। दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी तनाव उत्पन्न हुन्छ।

८। बजारमा ‘एन्टी ग्लेयर’ चस्मा पनि उपलब्ध छन्। यस्तो चस्मा लगाएर काम गर्दा केही फाइदा पुग्छ।

९। आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्नु उचित हुन्छ।

१०। बालबालिकालाई ग्याजेटको सट्टा अन्य खेलका सामग्री दिएर घरबाहिर साथीसँग खेल्न आकर्षित गर्नुपर्छ।

कम्प्युटर, ल्यापटप र स्मार्ट फोन चलाउँदा यी विषयमा सावधानी अपनाउने हो भने यसको नकारात्मक असरबाट केही हदसम्म बच्न सकिन्छ। (नेपाल समय)