थप १४४ जनामा कोरोना संक्रमण, १७ सय जना डिस्चार्ज
काठमाडौं ।
सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको हो ।
सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २/२ जना संक्रमित भेटिएका छन् ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।
कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ । हाल देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना सम्भावित संक्रमित रहेका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।






