Loading... आजः ९ भाद्र २०८३, मंगलवार । Tuesday 25th August 2026

रित्तिँदै क्‍वारेन्टाइन र आइसोलेसन

सल्यान।

जिल्लामा बनाइएका क्‍वारेन्टाइन र आइसोलेन खाली हुँदै जान थालेका छन्। मंगलबारसम्म जिल्लाका ९ वटा स्थानीय तहमा अब मात्र ३ सय २३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। त्यस्तै १७ जना आइसोलेसनमा बाँकी रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। क्‍वारेन्टाइनबाट घर फर्कनेको संख्या बढ्न थालेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।

उनका अनुसार १० स्थानीय तहमा बनेका १ सय ९ क्‍वारेन्टाइनमध्ये अधिकांश खाली छन्। मंगलबारसम्म दार्मा गाउँपालिकामा २३, कुमाख गाउँपालिकामा २७, बागचौर नगरपालिकामा ७१, शारदा नगरपालिकामा १७, छत्रेश्वरी गाउँपालिकाका २८ जना बसिरहेका छन्। यस्तै त्रिवेणी गाउँपालिकामा १२, कपुरकोट गाउँपालिकामा ३०, कालिमाटी गाउँपालिकामा १० र बनगाड कुपिण्डे नगरपालिकामा ९० गरी ३ सय २३ जना क्‍वारेन्टाइनमा रहेका पोखरेलले बताए। सिद्ध कुमाख गाउँपालिकाका सबै क्‍वारेन्टाइन खाली भइसकेका छन्। जिल्लामा २ सय २५ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार शारदा नगरपालिकाका ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १ सय ५१, कुमाख गाउँपालिकाका २७, सिद्ध कुमाखका ३, छत्रेश्वरी गाउँपालिकाका १, त्रिवेणी गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कपुरकोट गाउँपालिकाका २, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १५ र जिल्ला अस्पताल सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।