निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द
काठमाडौं ।
निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । ‘हामीसँग कक्षा सञ्चालन गर्ने सामर्थ्य रहेन’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले अनलाइनखबरसँग भने, ‘जुन दिन सरकारले हाम्रो माग सम्बोधन गर्छ, त्यो दिनबाट फेरि कक्षा सुरु गरौंला ।’
यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएको प्याब्सन तथा एन प्याब्सनले बताएको छ । यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने आफूहरुलाई महशुस भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख छ ।
अब सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः दिने निजी विद्यालयहरुले बताएका छन् ।








