सुर्यराज र मुमारामको बहिर्गमन पार्टीका लागि खेदजनक : रवीन्द्र मिश्र
काठमाडौं ।
साझा पार्टीबाट प्रवक्ता डा. सूर्यराज आचार्य र नेता मुमाराम खनाल बाहिरिएको विषयमा संयोजक रवीन्द्र मिश्रले प्रतिक्रिया दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले दुई नेताहरुको बहिर्गमन पार्टीका लागि खेदजनक स्थिति भएको उल्लेख गरेका छन् ।
आफूलगायत केन्द्रीय नेताहरुले यो स्थिति नआओस् भन्नका लागि बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेको मिश्रमको भनाइ छ । तर, केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा अघि बढ्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन् ।
साझा पार्टीले समान सोच भएका पार्टी, समुह र व्यक्तिहरुसँग एकीकरण र ध्रुविकरण गरेर तेस्रो ध्रुवको निर्माण गर्ने लक्ष्य लिएको मिश्रको भनाइ छ । यसका लागि कार्य प्रारम्भ गरिसकेको उनले बताएका छन् ।
मिश्रले लेखेका छन्, ‘पार्टी एकीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परीक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौं महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो उद्देश्य हुनेछ । स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर आउने संघीय चुनावमा पर्नेछ ।’
अनलाइन खबर






