Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भानुभक्तले गरे एक करोड बराबरको सम्पत्ति दान

सुर्खेत ।
देश धर्म निरपेक्ष भएपनि हिन्दुहरुको बाहुल्यता रहेको नेपालमा अझैँपनि धर्मप्रतिको माया र आस्थामा कमी आएको छैन । यही आस्थाका कारण सुर्खेतका एक व्यक्तिले बह्मकुमारी इश्वरीय विश्वविद्यालयलाई एक करोड बराबरको सम्पत्ति दान गर्नुभएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ इत्राम निवासी सुर्खेतकै प्रतिष्ठत समाजसेवी भानुभक्त उपाध्यायले आफ्नौ जग्गामा ८ कोठे घर बनाएर विश्वविद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

विश्व शान्ति र समाज सुधारको लागि आफुले परोपकारी संस्थालाई उक्त सम्पति सहयोग गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ओम् शान्तिबाट आत्म सन्तुष्टी मिल्यो । त्यही भएर सहयोग गरे ।’ ८४ बर्ष अघि स्थापना भएको इश्वरीय विश्वविद्यालयले समाजलाई कुलतबाट मुक्त गर्नका लागि शान्ति र भातृत्व स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । पछिल्लो समयमा युवा वर्गहरु विभिन्न कूलतमा फसेकोमा साह्रै मन दुखाउनुहुने उपाध्यायले समाजमा शान्ति व्यवस्थापन गर्नका लागि युवाहरुको विशेष भूमिका हुने पनि बताउनु भयो ।

युवाहरु सक्रिय नभई समाज परिवर्तन हुँदैन भन्दै युवाहरुलाई सही बाटोमा लगाउनका लागि धर्मले विशेष भूमिका निर्वाह गर्ने भएकोले धर्मप्रति नास्तिक भएर होइन आस्तिक भएर परिवर्तन गर्न सकिने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘कुसंस्कार र कुरीतिलाई चिर्नुपर्छ तर जीवनोपयोगी कुरालाई अनुशरण गर्नुपर्छ जसले मान्छेलाई मानव बनाएर जिउन सिकाउँछ ।’

१२ बर्षदेखि इश्वरीय विश्वविद्यालयमा आवद्ध उपाध्यायले हस्तान्तरण गरेको घरमा ज्ञान, योग, सेवा र धारणा विषयको अध्ययन हुने इश्वरीय विश्वविद्यालय परिवारले जनाएको छ । राजस्थानको माउण्टमा मुख्य कार्यालय रहेको इश्वरीय विश्वविद्यालय संसारका १ सय ४२ वटा देशमा संचालन भैइरहेको छन् । ६ महिना लगाएर निर्माण गरिएको उक्त घर एक करोडको लगानीमा निर्माण भएको हो ।
फोटोः भानुभक्त उपाध्याय र उहाँले दान गरेको एक करोड बराबरको घर ।