Loading... आजः ११ भाद्र २०८३, बिहीबार । Thursday 27th August 2026

अब कक्षा १२ को प्रमाणपत्रमा ११ को नतिजा नराखिने

काठमाडौं : यो वर्षदेखि कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङक उल्लेख नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो ।

यसपटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्र मा पनि नयाँ नियम लागू गर्न लागेको हो ।बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को प्रमाणपत्रमा सम्बन्धित विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरेका थिए भन्ने जानकारी लिनका लागि छुट्टै लिंकको व्यवस्था भने गरिने बताए । उनले भने, ‘कक्षा ११ मा कुन कुन विषयम कति प्राप्तांक ल्याए भन्ने जानकारी १२ को प्रमाणपत्रमा हुँदैन । तर ११ मा कुन कुन विषय पढेका रहेछन् भन्ने जानकारी भने लिन सकिन्छ ।’

यसअघि बोर्डले नै कक्षा ११ र १२ को परीक्षा लिने गरेको थियो । र बोर्डले नतिजा प्रकाशन गर्दा विद्यार्थीले कक्षा ११ र १२मा पढेको विषय र प्राप्तांक समेत उल्लेख गर्ने गरेको थियो । बोर्डले पारित गरेको कक्षा ११ को मूल्यांकन कार्यविधि अनुसार सम्बन्धित विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन अध्ययनरत विद्यालयबाटै हुनेछ ।

प्रधानाध्यापकको नेतृत्वमा रहेको मूल्यांकन समितिले विद्यार्थीलाई प्राप्तांक दिनेछ । तर यसरी दिएको प्राप्तांकमा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगको लागि विद्यालयमै निवेदन दिन सक्नेछ ।

विद्यालयले विद्यार्थीको निवेदनमाथि अध्ययन गरेर पुनर्योगको नतिजा कक्षा १२ को परीक्षा फाराम भर्नुअघि नै सार्वजनिक गरिसक्नुपर्नेछ । कोभिड १९ को संक्रमण त्रासका कारण यो वर्षदेखि कक्षा ११ को परीक्षालाई सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पनि आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई प्राप्तांक दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

बाँकी रहेको कक्षा १२ को परीक्षा भने बोर्डले नै सञ्चालन गर्नेछ । परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा तालिका सार्वजनिक नभएपनि भदौको अन्तिम सातादेखि असोजको पहिलो हप्ताभित्रमा परीक्षा सञ्चालन गर्ने तयारी बोर्डले गरेको नियन्त्र शर्माले जानकारी दिए ।-अन्नपुर्णा बाट