बाँकेको मध्यपश्चिम पानी उद्योग कारवाहीमा
नेपालगन्ज ।
बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो ।
कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाएपछि रु दुई लाख जरिवाना गरेको छ ।
बाँकेमा मलको अभाव
यसैबीच बाँकेमा रासायनिक मलको चरम अभाव देखिएको छ । यतिबेला किसानलाई धानबालीका लागि मल चाहिएको छ तर, नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडले कृषकलाई मल उपलब्ध गराउन सकेको छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलका अनुसार, बाँकेमा ४२ हजार हेक्टरमा खेती हुँदै आएको छ । जसका लागि छ हजार मेट्रिक टन युरिया, तीन हजार मेट्रिक टन डिएपी र १०० मेट्रिक टन पोटास मल अवश्यक पर्छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ६०० मेट्रिक टन युरिया, एक हजार ७०० मेट्रिक टन डिएपी र ४० मेट्रिक टन पोटास मात्रै आपूर्ति हुँदा बाँकेमा मलको अभाव देखिएको हो ।
कृषि कम्पनी लिमिटेडले यहाँका सहकारीमार्फत किसानसम्म मल पु¥याउने गरेको छ । बाँकेका करिब १०० सहकारीले कम्पनीबाट मल खरिद गरेर किसानलाई बिक्री वितरण गर्दै आएका छन् तर, सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई वितरण गरेर बाँकी रहेको मल मात्रै बिक्री गर्दै आएकाले आमकिसान समस्यामा पर्ने गरेका छन् ।
यद्यपि, जिल्ला सहकारी सङ्घले भने सबैलाई समानरुपले मल वितरण गरेको सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीको दाबी छ । कोरोना महामारीपछि बाँकेको सीमानाका बन्द भएकाले यस वर्ष सीमापारिबाट पनि सहजरुपमा मल ल्याउन नसकिएको कृषक बताउँछन् ।






