Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

पुन: मनसुन सक्रिय, भोलिदेखि तीन दिनसम्म झरी हुने

काठमाडौं ।
सोमबारदेखि (भोलि) फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।
विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ, ‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’
त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ । आइतबार (आज) भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।