Loading... आजः ४ बैशाख २०८१, मंगलवार । Tuesday 16th April 2024

दिवस नारामा होइन व्यवहारमा मनाऔं

विश्वमा धेरै खालका दिवसहरु मनाउने चलन छ । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ । कतिपय दिवसहरु नारामा मात्र सीमित हुन्छन् । दिवस मनाउनुको अर्थ कुनै दिन विशेष पारी नारा बनाई तामझाम मात्र गर्नु होइन । यसबाट विशेष उपलब्धी प्राप्त गर्न मनाउनु पर्छ । हाम्रो देशमा पनि विभिन्न दिवसहरु मनाउने चलन छ तर ती नारामा मात्र सिमित हुने गरेका छन् । यस्तै एउटा विश्व आमाबुवा दिवस जुलाइ २६ तारिख मनाइयो । ‘समस्त आमाबुवाहरुलाई हामी नमन गर्न चाहन्छौं ।’ यो वाक्यांस धेरैको मुखारविन्दुबाट निस्कने गर्दछ ।

सामाजिक सञ्जालमा आमाबुवाहरुप्रति धेरै वनावटी कुरा गरि पोष्ट गर्ने फेसन जस्तै भएको छ । सामाजिक सञ्जालको माध्यमबाट धेरैै कुराहरु गरिन्छ । तर ती मध्ये कतिपय आफ्नो लोकप्रिय बढाउनका लागि गरिएको हुन्छ । विश्वमा एउटा सत्यता छ, त्यो हो प्रकृतीको निरन्तरता । यो निरन्तरता, महिला र पुरुष विचको सम्बन्धको उपज हो । जुन, महिला र पुरुषको प्रजनन क्षमतामा भर पर्दछ । अर्को तर्फ महिला र पुरुषको सम्पर्कबाट प्राप्त उपजलाई समाजले स्वीकार गरेको खण्डमा त्यस्ता उपजकर्तालाई बुवाआमाको दर्जा समाजले दिने गर्दछ, जुनसुकै धर्मालम्बीहरुमा ।

बुवाआमाको दर्जा प्रप्त गरिसकेपछि उनीहरुको जिम्मेवारी आफ्नो उपज प्रति विशिष्ठ खालको हुन्छ । त्यस्तै गरेर त्यस्तै गरेर बावुआमाबाट जन्मेको सन्तानको पनि विशिष्ठ खालको जिम्मेवारी स्थापित गरेको हुन्छ विभिन्न किसिमका समाजमा । समाजमा घट्ने केही अपवादका घटनाबाहेक समान्य समाजमा बावुआमाको छोराछोरी प्रति कर्तव्य र छोराछोरीको कर्तव्य बावुआमा प्रति नभएको खण्डमा समाजमा विकृतिहरु आउने गर्दछन् ।

त्यस्ता विकृतिहरुबाट समाजमा घटनाहरु घट्न नदिनका लागि यस्ता दिवसहरु मनाउने गरिन्छ । अर्को शब्दमा भन्ने हो भने दिवस मनाउनुको अर्थ व्यवहारिक रुपमा यर्थाथमा पुग्नु हो । जसबाट, समाजमा प्रकृतिको निरन्तरता कायम हुन पुग्दछ । तर, समाजमा विभिन्न किसिमका सामाजिक घटनाहरु घट्ने गर्दछन् ,जसले गर्दा, समाजमा विकृति बढ्ने जस्ता कुराहरु हामीले भोग्दै आइरहेका छौं । आफूलाई जन्मदिने बावुआमा प्रति गरिने तुच्छ व्यवहार, जुन कुनै पनि समाजले कल्पना गरेको सम्म हँुदैनन् । बृद्धआश्रममा बढ्दै गएका लामहरु, बाटोघाटोमा बेसहारा आमाबुबाहरु । अनि, घरघरमा अपहेलना गरेर राखिएका आमाबुवाहरु ।

यस्ता विकृतिहरु समाजमा भइनै रहेका छन् । यस्ता विकृतिहरु हटाउन यस्ता दिवसहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । दिवस दिवसमै सीमित हुनु हुँदैन । हामी आजका पुस्ता भोलिका वृद्ध बावुआमा हुने अवश्यम् भावी छ । हामीले आफ्नो आमाबुवाप्रति जे जस्तो व्यवहार गर्छौ त्यस्तै व्यवहार हाम्रा सन्ततीले हामीलाई गर्नेछन् यो यथार्थ हो ।

किनकी हामीले आफ्नो आमाबाबुलाई गरेको व्यवहार उनीहरुले त्यसलाई शिक्षाको रुपमा ग्रहण गरिहेका हुन्छन् । हाम्रो पुस्ताले आफ्नो बाबुआमालाई कस्तो सम्मान दिने र आफ्ना बच्चाबाट कस्तो सम्मानको आशा गर्ने यो हाम्रै व्यवहारमा भर पर्दछ भन्ने कुराको हेक्का आजका पुस्तालाई हुन आवश्यक छ ।