Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

च्याउ खाँदा बिरामी परेका एकै घरका थप तीनको मृत्यु

जाजरकोट ।
च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।
गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताउनुभयो ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताउनुभयो ।

“ढिलो गरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन”, डा पौडेलले भन्नुभयो, “विषले शरीर विषाक्त बनाइसकेको थियो ।” उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो । घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पु¥याएको हो । वडा नं १ मा स्वास्थ्यचौकी नहुँदा निजी औषधि पसलमा लिएर उपचार गर्दा बिरामीले उपचार पाएका थिएनन् । बिरामी भएको तीन दिनपछि मात्र उपचारका लागि हेलिकप्टरमा उद्धार गरिएको थियो । रासस