Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

पिठ्यूमा विरामी बोक्छन् ‘ठौरीवासी’

वीरेन्द्रनगरमै गुड्न सक्दैनन् एम्बुलेन्स

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका वडा नं. २ को ठौरी ÷माझी गाउँका स्थानीयहरु विरामीलाई पिठ्यूमा बोक्न बाध्य छन् । फोर लेन निर्माण भइरहेको उक्त स्थानमा ठेकेदारको लापरवाहीका कारण स्थानीयहरु पिठ्यूमा विरामी बोक्न बाध्य भएका छन् ।


पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुने चक्रपथको निर्माण कार्यमा सुस्तता आएपछि अहिले चक्रपथको बाटोमा केवल माटो मात्र थोपरिएको छ । माटोको कारण हिलाम्य भएको सडकमा साना तथा ठूला कुनै पनि गाडिहरु गुड्न सक्ने अवस्था भएको स्थानीय लोकराज लामीछानेले बताउनु भयो । १३ गते नै डोजर पठाइदिन्छौ भनेका ठेकेदार अहिले त फोन नै उठाउँदैनन् उहाँको गुनासो छ ।

ठौरी र माझी गाउँमा गरेर करिब २५० परिवारको वस्ती छ । आपतकालिन अवस्थामा समेत उनीहरुले सवारी साधनको सुविधा प्राप्त गर्न सकेका छैनन् । नगरपालिकादेखि वडापालिका र ठेकेदार समेतलाई धेरै पटक आग्रह गर्दापनि एम्बुलेन्ससम्म कुद्नसक्ने बाटो निर्माण गरिदिने आश्वासन दिएपनि अहिलेसम्म आफ्ना समस्याहरुमा कसैले ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।

यता वीरेन्द्रनगर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बलबहादुर रोकाय भन्नुहुन्छ, ‘पहिले स्थानीयहरुले नै बाटो निर्माणमा अवरोध सिर्जना गरे, त्यसपछि लकडाउन भयो अनि वर्षात । जसले गर्दा विरामीहरु पिठ्यूमा बोक्नु पर्ने अवस्थाको सिर्जना भएकोमा हामीलाई समेत दुःख लागेको छ । तर ठेकेदारसँग समन्वय गरेर एम्बुलेन्ससम्म गुड्न सक्ने बाटो निर्माणका लागि लागिरहेका छौ ।’

पछिल्लो समयमा वीरेन्द्रनगर नगरपालिकाले नगर भित्रका बाटाहरु पनि मर्मत सम्भार गरिरहेको सवारी साधन गुड्न निकै समस्या भए बजार भित्र त नयाँ लाइनका बाटाहरु समेत प्रयोग गर्न सकिने अवस्था छ तर ठौरीका बासिन्दाहरु भने निकै समस्यामा परेका छन् । यो त उदाहरण मात्र हो । फोरलेन सडकको आसपासमा बस्नेहरु थुप्रै स्थानमा यस्ता समस्याहरु छन् ।