Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

ब्याडमिन्टनका महान् खेलाडी लीनद्वारा सन्यास

दुई पटक ओलम्पिक स्वर्ण विजेता थिए लीन

ब्याडमिन्टन खेलका महान् खेलाडीको संज्ञा पाएका चीनका लीन डेनले सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्न सफल लीनले आफ्नो दुई दशक लामो खेल जीवनबाट सन्यास लिएको हालै घोषणा गरेका हुन् । लीनको सन्याससँगै उनको दुई दशक लामो सुनौलो खेल जीवन पनि समाप्त भएको छ ।

३६ वर्षीय लीन खेल जीवनको उत्तराद्र्धमा आफ्नो उत्कृष्ट फर्मसँग सङ्घर्ष गरिरहेको थिए । बढ्दो उमेर लीनको लागि बाधक बन्दै गैरहेको थियो । यस्तो अवस्थामा उनी विश्व वरियताको पहिलो नम्वरबाट १९ नम्बरमा झरेका थिए । साथै जापानमा सन् २०२१ मा आयोजना हुने ओलम्पिकमा छनोट हुन उनलाई निकै गाह्रो भैरहेको थियो । किनकि उनकै सहकर्मी सी युकी र चेन लोङ उनको लागि चुनौती बनेका थिए । यस्तो चुनौतीको अवस्थामा लीनले सन्यासलाई नै आत्मसात गर्दै सक्रिय खेल जीवन टुङ्ग्याए ।

ओलम्पिक खेलकुदमा ब्याडमिन्टनको एकल प्रतिस्पर्धामा लगातार दुई पटक स्वर्ण पदक जित्ने लीन एक मात्र खेलाडी हुन् । लीनले सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा ब्याडमिन्टनको एकलतर्फ स्वर्ण पदक जितेका थिए । ब्याडमिन्टन खेलमा यस्तो उपलब्धि हासिल गरेर ओलम्पिकमा कीर्तिमान बनाउने लीन विश्वका एकमात्र खेलाडी हुन् ।

सन् २००० देखि २०२० सम्म दुई दशक आफ्नो राष्ट्र चीनबाट ब्याडमिन्टनमा सहभागिता जनाएका लीनले यो अवधिमा चारवटा ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । ‘यो उमेरमा चोटिलो हुनु मेरो लागि पीडादायी बन्यो, मलाई अगाडि खेल्न मेरो शरीरले दिएन, त्यसैले सन्यासको घोषणा गरे’– लीनले भने । यो दुई दशकको खेल जीवनको बारेमा भन्नुपर्दा म आफुलाई निकै भाग्यमानी ठानेको छु, तर राष्ट्रिय टीमवाट अलग्गिनुको पीडा कस्तो हुँदोरहेछ त्यो पनि भोगिरहेको छु । साँचो अर्थमा भन्नुपर्दा ज्यादै नरमाइलो लागिरहेको छ । अब बाँकी समय आफ्नो परिवारलाई समर्पित गर्नेछु । मैले मेरो खेल जीवनमा निकै उतार चढावको सामना गरेको छु, पराजयको पाठ सिक्दै, सङ्घर्ष गर्दै यो ठाउँमा पुगेको हुँ । त्यसैले म गर्वमा साथ भन्छु– ‘मेरो सफलतामा मेरो मेहनतसँगै भाग्यले पनि उत्तिकै साथ दिएको छ ।’

लीनले आफ्नो सक्रिय खेल जीवनमा दुईटा ओलम्पिक स्वर्ण पदकसँगै पाँच पटक विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए । त्यस्तै, ६ पटक अल इङ्गल्याण्ड ओपन ब्याडमिन्टनको उपाधि पनि जितेका थिए । लीनले आफ्नो खेल जीवनमा कुल ६६६ अन्तर्राष्ट्रिय एकल उपाधि जितेर इतिहास रचेका छन् ।