Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

प्रदेश २ मा मिलिजुली खाऔं प्रवृत्ति

प्रदेश २ को बजेट विगतका वर्षहरुमा हामीले विरोध जनाएका थिएनौं र सर्वसहमतले पारित गर्ने गरेका थियौं । हामी सुरुमा हेर्यौं कि संघीय भर्खर आएको छ, यसलाई कसरी परिपक्क बनाउने, स्थायीत्व दिनका लागि नै विरोध जनाएनौं । मधेशवादी दलहरुले जसरी गडबड गर्दै आएको छ, त्यस आधारमा हिजो गडबडी गर्दा पनि संघीयताको स्थायित्वका लागि हामीले समर्थन गर्दै आएका थियौं र सर्वसहमतिबाट पारित गर्दै आएका थियौं । त्यसपछि उहाँहरुको मनोवल बढ्दै गयो र एकाधिकार कायम गर्न खोजे । मनोगत हिसावले पनि बजेटहरु ल्याउन थाले । कुनै पनि गौरवका योजनाहरुमा केन्द्रित भएनन् बरु झिना मसिना वस्तुहरुमा कनिका छरेजस्तै बजेटहरु छर्न थाले । यस पटकको नीति कार्यक्रममा हामीले जति विरोध गरे पनि कुनै सुधार हामीले देखेनौं । त्यसकारण यसपटक हाम्रो धैर्यताको बाँध टुट्यो । हुन्छ वा हुन्न भन्दा पनि भोटिङ्गकै माग गरेर हामीले विरोध जनायौं ।

रामचन्द्र मण्डल

बजेटको सबभन्दा मुख्य कुरा प्राथमिकता निर्धारण गर्ने विषयवस्तु हुन्छ । नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको थियो । यद्यपि अहिले कोरोना महामारीको कहर छ । कोरोना महामारीलाई अहिले प्राथमिकता दिनुपर्दथ्यो । तर, त्यहाँ कृषिलाई प्राथमिकता दिने काम गरियो । कृषिलाई पनि उत्पादन सम्बन्धलाई निर्वाहमुखीको कसरी क्रमभंगता गर्ने, पुँजीवादी सम्बन्धसँग कसरी जोड्ने, त्यसलाई औद्योगिकरणतर्फ कसरी लाने जस्ता कुनै पनि कार्यक्रम हामीले देखेनौं । त्यस्तै, प्रदेश २ का लागि सबभन्दा मुख्य समस्या भनेको चुरे समस्या हो । चुरे पहाड एकदमै कोमल हो, अलिकति पनि दायाँ बायाँ हुने बित्तिकै पूरै झरेर जान्छ ।

बालुवा गिट्टीका कारणले तलका कृषियोग्य जग्गाहरु मरुभूमि हुने स्थिति बन्दैछ । त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसको बारेमा कुनै सोच अहिलेसम्म देखिएको छैन । त्यसको लागि दुई करोड रुपैयाँ मात्रै छुट्याएको छ । बजेटमा पर्यटनको क्षेत्रलाई पनि मुख्य बनाएको छ । सडककै क्षेत्रहरुलाई अहिले मुख्य बनाएको छ । यता, कोरोना केन्द्रित कार्यक्रमहरु हुनुपर्दथ्यो, ती कुराहरु छैन । बेटी बचाउ बेटी पढाउ अभियान, स्वच्छता र सरसफाइ अभियानहरु ल्याइएको छ । त्यसमा पनि मन्त्रीहरुले आफ्नो जिल्लामा केन्द्रित गर्ने, आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्ने, मुख्यमन्त्रीले पनि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गर्ने, सभामुखलाई पनि आफ्नो अनुकूलतामा ल्याउनका लागि सभामुखको निर्वाचन क्षेत्रमा विकासका योजनाहरुका लागि बजेट छुट्याउने लगायतका कार्यक्रमहरु मात्रै छन् ।

यी सबैबाट मिलिजुली खाउ प्रवृत्ति देखियो । त्यसकारण यसबाट प्रदेशको समृद्धि हासिल गर्न सकिन्न भन्ने हाम्रो ठहर भयो । त्यो ठहरकै आधारमा बजेटलाई परिमार्जन गरेर ल्याउनुस् भन्यौं । तर, बजेट परिमार्जन गर्ने स्थिति नदेखेपछि हामी भोटिङ्गका लागि तयार भयौं र विपक्षमा भोटिङ्ग गर्यौं । उनीहरुसँग बहुमत छ, बहुमतले पास गरे । तैपनि सांकेतिक विरोधका लागि हामी विपक्षमा उभ्यौं ।

मुख्यमन्त्रीले आफ्नो जिल्लामा रहेको पोखरिया अस्पताललाई जिल्ला अस्पतालको रुपमा रुपान्तरण गर्नुभएको छ । सप्तरीका एक जना मन्त्रीले आफ्नो क्षेत्रमा रहेको भारदह अस्पतालमा बजेट छुट्याउनुभएको छ । तर अन्य ठाउँमा स्वास्थयको लागि बजेट छुट्याइएको छैन । अन्य जिल्ला अस्पतालहरुमा बजेट छुट्याइएको छैन । जहाँ जसको प्रभाव छ, त्यसकै आधारमा बजेट छुट्याएकोले समस्या भएको छ । कोरोनालाई रोकथाम गर्न अहिले पनि जिल्लाहरुमा समस्या आइरहेका छन् । क्वारेन्टाइन, पीसीआर, भीटीएमका समस्याहरुमा सरकार केन्द्रित हुनुपर्दथ्यो । त्यसकारणले हामीले निष्कर्ष निकाल्यौं कि जसरी यो सरकारले प्राथमिकताका आधारमा बजेट निर्धारण गर्नुपर्ने थियो त्यसमा पूर्ण असफल देखिन्छ ।

मुख्यरुपमा बजेटमा कसरी प्राथमिकता निर्धारण गर्ने, बजेटका अन्तरवस्तुहरुलाई कसरी व्यवस्थित गर्ने, आन्तरिक स्रोतहरुलाई कसरी व्यवस्थापन गर्ने, आन्तरिक राजस्व कसरी वृद्धि गर्ने लगायतका कुरामा सरकारको विज्ञताको अभाव देखिन्छ । यसपटककै बजेटमा किसानलाई मार्ने खालको बजेट ल्याएको छ । रजिष्ट्रेशन शुल्क एकदमै आकाशिने गरी बढाइदिएको छ । यसरी हामीले नियाल्दा इकोनोमिष्टले ल्याउने बजेटको आधारलाई नमानेको देख्छौं । न त यो बजेट आधार बनाउन सकेको छ, न त यसले सुपर स्ट्रक्चर नै निर्माण गर्न सकेको छ । त्यसकारणले हामीले बजेटलाई समग्रमा हेर्दा कनिका छरेजस्तै देखिएको छ । हाम्रो आन्तरिक स्रोतहरु व्यवस्थित छैन, आम्दानीका स्रोतहरु स्पष्ट पारिएको छैन तर साइकल वितरण गरेर, छोरी बीमा गरेर, स्वच्छता अभियान, पोखरी सौन्दर्यीकरण गरेर अन्य–अन्यमा बजेट खर्च गर्ने काम भइरहेको छ । जस्तै मठमन्दिरहरुमा बढी जोड दिने, अन्य कुराहरुमा जोड नदिने । अहिले साइन्स र टेक्नोलोजीको युग छ, त्यसलाई नमानेर बजेट ल्याउँदा यसले कुनै किसिमको विकास र समृद्धि आउँछ भन्ने हामीलाई लागेन । त्यसकारणले हामीले यसमा विरोध जनायौं र सर्वसहमतिले पास हुन सकेन । (मधेश दर्पण फिचर सेवा)